Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका विरुवा

बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका विरुवा


  • 4.8K
    Shares

    • images
    बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका विरुवा
    images

    धनकुटा । किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ ।

    कोशी प्रदेश सरकारको १० लाखको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश वन विकास कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएको छ ।

    जिल्लाका सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले जानकारी दिए । पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले ,छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ ।

    प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको उनले जानकारी दिए ।

    वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतङ्कबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । ‘बाँदरले वनमा नै खान पाएपछि किसानलाई दुःख दिनेछैन’ उनले भने ।

    यस कार्यक्रमलाई निरन्तरता दिँदै यो पनि वर्ष करिब दस हजार वनजन्य बिरुवा रोप्न तयार भइरहेको योजना अधिकृत राई जानकारी दिए । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष मा प्रदेश सरकारको पाँच लाख बराबरको कार्यक्रम छुट्याएको उनले बताए । जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन् ।

    प्रकाशित मिति :भाद्र २६ २०८० मंगलवार - १५:५९:२४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij