Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सिँचाइ सुविधापछि चितवनको भार्लाङमा बाह्रैमास तरकारी खेती

सिँचाइ सुविधापछि चितवनको भार्लाङमा बाह्रैमास तरकारी खेती


  • 1.8K
    Shares

    • images
    सिँचाइ सुविधापछि चितवनको भार्लाङमा बाह्रैमास तरकारी खेती
    images

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।

    भरतपुर महानगरपालिकाको  ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

    सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको उनले बताइन् । महानगरपालिकाले सिँचाइलाई प्राथमिकतामा राख्दै काम गर्दैआएको दाहालले बताइन् । ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । सबै क्षेत्रमा सिँचाई सुविधा पु¥याउन महानगरपालिका लागिपरेको छ,’ उनले भनिन् ।

    महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको दाहालकाे भनाई छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको दाहालले बताइन् ।

    उक्त आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी दिए। मुख्य पाइप लाईन विस्तारमा  ४३ लाख, ट्याङ्की निर्माणमा  २० लाख र शाखा पाइपलाईन विस्तारमा  आठ लाख खर्च भएको महानगरले बताएकाे छ । आयोजनाको काम २०७८ सालदेखि सुरु भएको हो ।

    भार्लाङका चित्रबहादुर गुरुङले सिँचाइ सुविधा पुगेपछि व्यवसायीकरुपमा कृषि कर्म थालिएको बताए । उनले आफै पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् । विगतमा जेततेन दुई कठ्ठामा मात्र धान रोप्दै आएका गुरुङले अहिले नौँ कठ्ठामा रोपेका छन् ।

    ‘सिँचाईको अभाव थियो । यहाँ कोदो, मकै, गहत, मास मात्र उब्जनी हुन्थ्यो,’ ट्याङ्की निर्माण गर्न जग्गासमेत दिएका गुरुङले हराभरा भएको खेत देखाउँदै भने, ‘अहिले मकै भाँचेर धान रोपेको छु । धान काटेपछि तरकारी खेती गर्ने योजना छ ।’

    सिँचाइ कुलो नहुँदा हिँउदे खेती लगाउन नपाएर पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भार्लाङ टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठले बताए । ‘मकै, कोदो लगाउँथ्यौँ । तरकारी र धान रोप्न पानी नहुने, उनले भने, “यसवर्ष आठ कठ्ठामा धानसमेत रोपेको छु । अहिलेसम्म राम्रो देखिएको छ ।’ उनले तरकारी खेतीको समेत विस्तार गर्ने योजना रहेको सुनाए ।

    भरतपुर महानगरपालिकाको सहयोगमा करिब तीन किलोमिटर दुरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याइएको छ । खोलाको पानी ट्याङ्कीमा संकलन हुन्छ । ट्याङकीको क्षमता डेढ लाख लिटरको छ । त्यहाँबाट पाईमार्फत किसानको खेत खेतमा पानी पुर्‍याइएको उनले बताए ।

    भरतपुर–२९ का वडा सदस्य डिल कुमार श्रेष्ठले कोदो र मकै मात्र हुने गाउँमा सिचाइँको सुविधापछि धान र बाह्रै मास तरकारी फल्ने गरेको बताए । उनले हरेक महिना गाउँघर हरियाली भएको भन्दै सबै स्थानिय व्यवासायिक रुपमा तरकारी खेतीमा लागेको जानकारी दिए।

    भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले भैगोलिक रुपमा विकट रहेको वडालाई कृषि र पर्यटन मार्फत समृद्ध बनाइने बताए । उनले आवश्यकताका आधारमा वडाका अन्य क्षेत्रमा पनि सिचाइँ सुविधा पुर्‍याउने प्रतिबद्धता जनाए ।

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - ०८:०१:०३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij