२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले बताए।
उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउने कुरामा सत्ता पक्षले सहमति जनाएको र भोलिसम्म आफ्नो आजकै प्रतिवद्धता अडिए संसद सुचारु हुने बताए।
उनले उच्चस्तरीय समिति कस्तो बनाउने भन्नेमा सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको बताए।
उनले भने, ‘हामीले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउने कुरा राख्यौँ । यसमा सरकारले पनि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा तयारी छौँ भन्ने कुरा आएको छ । दलका नेताको तर्फबाट पनि सहमति भएको छ । त्यसमा केही ड्राफ्ट गर्नुपर्ने भएको हुनाले, सुवास नेम्वाङ माननीय, हीतराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार पारेर भोलि बिहान ११ बजेसम्म तयार पारेर त्यसको फाइनल रुप दिने र भोलि २ बजे शिर्ष नेताको बैठक बस्ने सहमति भएको छ । भोलिसम्म सहमतिमा पुग्छ । भोलिसम्म सरकारले अहिले हामी तयार छौँ भनेको कुरा उभियो भने प्रतिवद्ध रह्यो भने खुल्छ ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताए।
उनले भने, ‘सहमति ड्राफ्ट गर्ने चरणमा पुग्यो, सहमति भयो । नेताहलाई जिम्मा दिएको छ । आज संसद खुल्नेमा विश्वस्त छु ।’
सत्तारुढ दल नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताए।
उनले भने, ‘छलफल भएको छ, सकारात्मक छ । सबैकुरा आएका छन् । सबै विकल्पमा सम्भावनामा छलफल भएको छ । आज बैठक बसेर टुंगोमा लैजानेछौँ।’
आज पुनः सर्वदलीय बैठक ११ बजे बस्ने र शिर्ष नेताहरुको बैठक २ बजे बस्ने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij