Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै

‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै


  • 1.9K
    Shares

    ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै
    images

    काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शनिबार पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।
     
    सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन, खेलकुद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिइयो । क्लबका अध्यक्ष महेश कर्माचार्यले मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्रीलगायतका एक सय प्रदर्शनी कक्ष रहने बताए ।
     
    यस्तै मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई सांस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ । मेलामा महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए ।

    यसैगरी मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिएको आयोजकले जनाएका छन् ।
     
    यसअघि गत वर्ष माघमा बनेपाको ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

    प्राचीन सहर बनेपामा घाम र हावाको सन्तुलन मिलाउन ठाउँ–ठाउँमा, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली छन् । बनेपा नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९  इनार भएको सहर हो । 

     

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - ०७:००:५३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij