Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी मात्रै निर्माण

चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी मात्रै निर्माण


  • 1.5K
    Shares

    चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी मात्रै निर्माण
    images

    मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो ।

    गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै ‘लाइफ लाइन’का रूपमा रहेको सो सडक खण्ड ९६ किमीको छ । थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाका समयमा खनिएको सडकमाथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ ।

    समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ ।

    तत्कालीन जिल्ला विकास समितिमुगका पूर्वसभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आव २०६२/६३ मा विस्तृत सर्भेका लागि बोलपत्रमार्फत सर्भे गरेको थियो ।

    उक्त सर्भे गर्दा सो सडकको २५ करोड लागत अनुमान गरिएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि उक्त सडक सङ्घीय सरकारको मातहतमा राखियो । यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चेलाग्ना सडकको ढङ्गेधारासम्म ‘डिपिआर’ गरी विसं २०७३ बाट सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो ।

    जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पूर्णबहादुर रोकायाले भने, ‘गमगढी–नाक्चेलाग्ना सडक त्रिदेशीय अन्तर्राष्ट्रियस्तरको भएर पनि संघीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय हो । सदियौँ देखिको कर्णालीवासीको तिब्वतमा जडीबुडी, ऊन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार विस्तार गर्ने सपना साँघुरिँदै गएको छ ।’

    सडक डिभिजन कार्यालय जुम्लाबाट गमगढी–नाक्चेलाग्ना सडकको लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीले संघीय सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण सम्पन्न हुने हो कुनै टुङ्गो नभएको उनले बताए । सडकको लागि पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेको खण्डमा निर्माण चाँडै सम्पन्न गर्न समस्या नरहेको बताए ।

    गत आव २०७८/७९ चार करोड ९३ लाख रुपैयाँ सडक निर्माणमा खर्च भएको थियो भने आव २०७९/८० मा चार करोड ४० लाखमा खर्च भएको बताइएको छ । उनले गमगढीबाट मुगुम् कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएको जानकारी दिए । हालसम्म सडक निर्माणका लागि करिब २० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । हाल सडक निर्माणको काम थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ ।

    गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं नागरिक अगुवा सन्तोषकुमार मल्ल भने, ‘गमगढी–नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गर्न संघीय सरकारले प्राथमिकतामा राख्नुपर्छ । यसका लागि जिल्लाका जनप्रतिनिधिले आवाज उठान गर्नुपर्छ ।’ 

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - ०५:५४:१९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij