२०८२ भाद्र ९ गते सोमवार
संखुवासभा । संखुवासभा कारागारमा दुई कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० प्रहरी पक्राउ परेका छन् ।
कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारभित्रै कुटपिटबाट मृत्यु भएको थियो ।
सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘सीसीटीभीमा उनीहरू संलग्न देखिएपछि नियन्त्रणमा लिएका हौँ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी (संखुवासभा) पुगेको छ ।
समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij