Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

गाजली-गाथा लोकार्पण सुसम्पन्न

गाजली-गाथा लोकार्पण सुसम्पन्न


  • 5.5K
    Shares

    गाजली-गाथा लोकार्पण सुसम्पन्न

    पर्यटन व्यवसायी अम्बिर गुरुङकृत 'गाजली- गाथा' को एक विशेष समारोहबीच नुवाकोटको तुप्चेमा यही भाद्र -१९ गते, शुक्रवार लोकार्पण गरियो । नुवाकोट-१, का सङ्घीय सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा• धनप्रसाद सुवेदीको विशेष आतिथ्यमा सम्पन्न उक्त सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै सांसद तामाङले कृति कष्टकर ढङ्गले जीवन बिताउने ग्रामीण आमाहरूको यथार्थ कथाको प्रतिविम्ब भएको दाबी गरे ।

    अम्बिर गुरूङ अत्यन्तै इमान्दार राजनीतिज्ञ र शालीन समाजसेवी त छँदै थिए परन्तु उनी बेजोड लेखकीय चेत भएका व्यक्तित्त्व पनि रहेछन् भन्ने पुस्टी भएको तामाङको जिकिर थियो । एक फरक प्रसङ्गमा भोगिएका यथार्थतालाई जीवन्तरूपमा अभिलिखित गर्न सक्नु पनि सशक्त सिर्जना नै हुने उनको कथन थियो । त्यस्तै डा• सुवेदीले यदि स्रष्टा यथार्थताप्रति इमान्दार रह्यो भने जीवनी र संस्मरण इतिहासभन्दा प्रिय हुन्छ भन्दै जब कृति साधारणीकरण हुन्छ त्यो सर्वप्रिय र लोकग्राह्य बन्छ भन्ने राय व्यक्त गरे । सङ्क्षिप्त तर सारगर्भित मन्तव्य दिएका सुवेदीले अम्बिर गुरुङलाई यस्ता खाले अन्य कृति पनि लेख्न उत्प्रेरित गरे । प्रा•डा• प्रेम शर्माले अठोट, इमान्दारी र शालीनता भएका अम्बिर आफ्नो पनि गुरु भएको अवगत गराए । ठट्यौलो भाषामा उनले थपे- 'अम्बिरले अब एउटा पुस्तक लाम्छाने गुरुङको वंशावली केन्द्रित भएर लेख्नुपर्छ ।' त्यसका निम्ति कच्चा पदार्थका रुपमा एउटा पुस्तक पनि हस्तान्तरण गरे ।

    received_9686946721378896.jpeg

    पुस्तकबारे साङ्गोपाङ्ग परिचर्चा गर्दै उन्मुक्त अभियन्ता माधव घिमिरे 'अटल'ले कृति पीडाले जलेका, कष्टले पिल्सिएका र हेपाइले उधिनेका सिङ्गो ग्रामीण महिलाको शब्दचित्र भएको बताए । 'गाजली-गाथा' गरिबीले दारेका र ठालुहरूले लघारेका अभिशप्त मान्छेहरूको जीवनको साझा कहिरन भएको उनको अभिमत थियो । कृतिकार अम्बिर गुरुङ 'गोफ्ले'ले आफूले देखेका आमाका भोगाइको इतिवृत्त प्रस्तुत गरेको उल्लेख गरे । यस्ताअसह्य जीवन अरू धेरैको हुनसक्ने भए पनि आफूलाई लागेको चोटको जलन बेसी दर्दनाक हुने उनको स्वीकारोक्ति थियो । वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीले गाजली-गाथा आम दुःखी आमाहरूको जीवन्त कथाको उत्कृष्ट अभिलेख भएको मत राखे । त्यस्तै अर्का वरिष्ठ पर्यटन व्यवसायी कमल सापकोटाले कृतिले ग्रामीण गरिबीको चित्र उतारेको भनाइ राखे । पूर्व सङ्घीय सांसद राममाया बोगटीले गाजली भाउजूले गरेको अविराम सङ्घर्ष अहिलेको पुस्तालाई कामयावी हुने बताइन् ।

    received_990218378980932.jpeg

    कार्यक्रममा पूर्व प्रदेश सांसद हीरानाथ खतिवडा, चण्डेश्वरी मा•वि•का प्र•अ• हरिप्रसाद रिजाल र सप्रअ तथा पूर्व प्रअ क्रमशः गणेश लामिछाने र कृष्णप्रसाद भण्डारी, पर्यटन व्यवसायीहरू कुमार थापा, ॠषिराम भण्डारी, शिव लामिछाने, तेज गुरूङ, जिटिनका अध्यक्ष पिताम्बर गुरुङ, चलचित्रकर्मी बिमला के•सी•, शिक्षक शिवराम भट्टलगायतले शुभकामना मन्तव्य राखेका थिए । कीर्तिशेष गाजलीमायाका ज्येष्ठ सुपुत्र सुकबहादुर गुरुङको अध्यक्षतामा सुसम्पन्न उक्त समारोहमा वृषबहादुर गुरूङले गाजलीमायाका सुखदुखबारे परिचर्चा तथा अतिथि स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण आशकाजी गुरुङले गरेका थिए ।

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १७:१०:५३ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij