२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्टीकरण दिँदै उनले उक्त प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको बताए । भ्रष्टाचारजन्य सबै काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने समेत बताएका छन।
उनले सबै कुरा अहिले आफूलाई सम्झना नभएको बताउँदै लेखेका छन्, ‘राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’
भट्टराईले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नहुने बताए। उनले भने,‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्स अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !’
भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ भनेर आफूले संसद र बाहिर पनि आवाज उठाइरहेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले यसमा आफू आजीवन प्रतिबद्ध रहेको बताएका छन् ।
ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij