२०८२ भाद्र ८ गते आइतवार
आज हरिशयनी एकादशी । आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी एकादशीका रूपमा मानिँदै आएको छ ।धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रुपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो ।
तुलसी सनातन धर्मावलम्बीका लागि ज्यादै महत्त्वपूर्ण वनस्पति हो । हरिशयनी एकादशीका दिन आँगनमा रोपेर चतुर्मासभर पूजा गरिन्छ। चार महिनापछि हरिबोधिनी एकादशीको दिन विवाह गरेपछि तुलसीको पूजा अनुष्ठान पूरा हुन्छ। भगवान् विष्णुको स्वरूपको रूपमा मानिन्छ, तुलसी। पुराणहरू विष्णुले वृन्दा श्राप पाई तुलसीको रूपधारण गरेको उल्लेख छ।
पुराणका कथाहरुमा जे भए पनि धार्मिक कार्यहरूमा नभई हुँदैन तुलसी। नारायणपूजामा तुलसीपत्र वा मञ्जरी अनिवार्य मानिन्छ। श्राद्धमा पनि तुलसीपत्र चाहिन्छ। अरुपूजामा पनि नैवेद्य आदिमा तुलसीपत्र हाल्ने चलन छ।
तुलसीको मठलाई तीर्थस्थलसरह मानिन्छ। यहाँ माटो पनि पवित्र मानिएको छ। देवकार्य वा पितृकार्य तुलसीको मठनजिकै गर्नु उपयुक्त मानिन्छ। वैज्ञानिक दृष्टिले पनि धेरै अक्सिजन फ्याँक्ने विरुवाको रूपमा यसको महत्त्व छ। यसको गन्धका कारण वरपर विषालु किराहरूले दुःख दिँदैनन्। आयुर्वेदमा यसबाट बनेका अनेकौँ औषधि छन्।
तुलसीका जरा, ठाँड, पात, फल र फूल(मञ्जरी)औषधिमा प्रयोग हुन्छ। सनातन धर्ममा उल्लेख त्रिदेवमध्ये ब्रहमाले सृष्टि गर्ने, विष्णुले रक्षा गर्ने र महेश्वरले संहार गर्ने उल्लेख छ। तुलसीले पनि मनिसको स्वास्थ्यरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने कारण यसलाई विष्णुको रूपमा वा विष्णुप्रियाको रूपमा पूजा गर्ने परम्परा रहेको बुझिन्छ।
निराहार व्रत
हरिशयनी एकादशीको व्रत सकेसम्म निराहार बसिन्छ । तर शरीर माध्यम खलु धर्म साधनम्– शरीर रहे न धर्म गर्ने हो भन्ने शस्त्रमा छ । “सबैभन्दा पहिले शरीरको ख्याल गर्नुपर्छ, शरीरले जे गर्न सक्छ साही अनुसारको फलाहार लिएर वा नलिई व्रत बस्नुपर्छ । शरीरलाई माध्यम बनाएर धर्मको रक्षा गर्ने हो,” प्राडा घिमिरे भन्छन्, “धर्मका लागि शरीरलाई समाप्त गर्नु हुँदैन । शरीरलाई मासेर शरीरलाई दुःख दिएर, शरीरको सम्पूर्ण कुरा सुकाएर धर्म गर्न सक्दैनौँ ।”
प्राणी भएकाले फलाहारका माध्यमबाट भगवानको व्रत बस्ने सन्ध्याकालीन आरतीपछि पनि सकेसम्म नुन नखाई रोटी खाएर यो व्रत बस्न सकिने बताउँछन् घिमिरे । व्रत बसिसकेपछि सन्ध्याकालीन हवन गरेर व्रत फुकाउने परम्परा छ । पूर्ण व्रत बस्ने भक्तजनहरूले द्वादशीको दिन सानो हवन गरे व्रत समापन गर्ने परम्परा पनि समाजमा प्रचलित छ ।
चार महिना शुभकार्य गरिँदैन
हरिशयनी एकादशीदेखि शेषशायी भगवान् विष्णु यो चार महिना विश्राम गर्छन् । ‘यो चार महिना विवाह, व्रतबन्ध, छेवर जस्ता संस्कारसँग सम्बन्धित कुनै पनि शुभकार्य गर्नु हुँदैन’ भट्टराई भन्छन्, ‘कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीसम्म (भगवान् विष्णु शयन गरेदेखि नजागेसम्म) यी कर्महरू गरिँदैनन् ।’
यो चार महिना भगवान् विष्णुको गुणकीर्तन गर्ने, श्रीमद्भागवत् महापुराण लगाउने, विष्णुपुराणको पारायण गर्ने जस्ता विशेष कार्य आयोजना गरिँदैन, वर्जित गरिएको छ । तर दैनिक सन्ध्या उपाशना र नित्य पूजाआजा नरोकिने प्राडा घिमिरे बताउँछन् ।
तर हरिशयनी एकादशीका दिन रोपेको तुलसीलाई चार महिनापछि हरिबोधनी एकादशीका दिन विवाहयोग्य मानेर तुलसीका मोठमा भगवान विष्णुको तुलसीको माध्यमबाट विवाह गरेपछि चतुर्मासमा रोकिएका यज्ञयज्ञादि कार्यक्रमहरू सबै फुकुवा हुन्छन् । त्यसैसँग जोडेर हरिबोधनी एकादशीका दिन न्वागी (नयाँ अन्न देवता र पितृलाई अर्पण गरेर खाने आरम्भ) पनि गर्छौं । नयाँ धानको चामल पिसाएर देवता पितृलाई चढाएर र होम गरेर खाने परम्परा रहेको भट्टराई बताउँछन् ।
एकादशी व्रत किन ?
हाम्रा धर्मग्रन्थ, पुराण, उपनिषद् र व्रतहरूको मुख्य उद्देश्य भनेको मन निग्रह हो । शरीरका पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन एघारौँ इन्द्रिय हो र मनको चञ्चलातालाई नियन्त्रण गर्नु व्रतको मुख्य उद्देश्य हो । मनले नै बुद्धि, चित्त र अहङ्कार निर्माण गर्छ भन्छन् घिमिरे ।
यो चञ्चल मनलाई एकाग्र गर्नु र एकतामा बाँध्नु भनेको एउटा चलिरहेको वायुलाई पक्रनु समान हो, त्यो सम्भव छैन भनेर भगवान् कृष्णले अर्जुनलाई भने। ‘एकादश इन्द्रिय मन हो, मनलाई निग्रह नगरीकन, मनलाई वशमा नराखीकन, मनलाई स्थापित नगरीकन, मनका कुरालाई नरोकीकन हामी धर्मकर्म गर्न सक्दैनौँ,’ तसर्थ हाम्रा परम्परा, हाम्रो संस्कार र हाम्रो हिन्दुमान्यतामा एकादश इन्द्रिय भनेको मन हो मनलाई वशमा राख्न र चञ्चलताबाट रोक्न यो एकादशी व्रत लिइएको हो ।
धार्मिक दृष्टिले मात्र होइन आध्यात्मक र आयुवेर्दिक दृष्टिले तुलसीको महत्त्व धेरै छ । किनभने तुलसीका गुणहरू १०८ वटाभन्दा बढी छन् । ‘धार्मिक दृष्टिकोणका साथसाथै स्वाथ्यका दृष्टिले पनि अत्यन्त उपयोगी छ, अक्सिजनको कमी हुँदा तुलसी महत्त्वपूर्ण हुन्छ’ प्राडा भट्टराई भन्छन्, ‘मृत्यु संस्कारमा पनि तुलसीको मोठ र मञ्जरी महत्त्वपूर्ण मानिन्छ ।’
यसै गरी तुलसी जुन घरमा हुन्छ, त्यहाँ यमराजका दूतहरू नआउने विश्वास गरिन्छ । त्यस्तै अहिलेको समयमा एलोपेथिक, आयुर्वेदिक डाक्टरहरूले तुलसीको पानी खानाले शरीर स्वस्थ हुने, कुनै विकार भए निराकण हुने उनी बताउँछन् ।
तर तुलसीलाई विष्णु भगवानका रूपमै मान्नु पर्ने धारणा छ । ‘संस्कार परम्परा र सनातन परम्पराले दिएका कुराहरूमा हामीले हस्तक्षेप गर्न मिल्दैन । तुलसीबारे आयुर्वेदले एक थोक भन्ला, विज्ञानले अर्को थोक भन्ला,’ घिमिरेले भन्छन्, ‘तुलसी, पीपल, शालिग्राम, कुशलाई भगवान्का रूपमा मानिएको छ । यो हाम्रो सनातन परम्परा हो ।’
पौराणिक कथा
पौराणिक कालमा एउटी केटी थिइन् । उनको नाम वृन्दा थियो । उहाँ दानवको कुलमा जन्मनुभएको थियो। वृन्दा सानैदेखि भगवान विष्णुको परम भक्त थिइन् । धेरै मायाले भगवानको पूजा गर्थिन । जब उनी हुर्किइन्, राक्षस कुलका राक्षस राजा जालन्धरसँग उनको विवाह भयो, जलन्धर समुद्रबाट जन्मिएका थिए । वृन्दा एक धेरै धर्मी नारी थिइन् र सधैं आफ्नो पतिको सेवा गर्थिन् ।
एक पटक देवता र दानवबीच युद्ध भयो, जालन्धर युद्धमा जान थालेपछि वृन्दाले भनिन्–‘स्वामी तिमी युद्धमा जाँदैछौ, जबसम्म युद्धमा रहन्छौ, तबसम्म म पूजामा बस्छु र तिम्रो विजयको अनुष्ठान गर्छु । फर्केर आउनुहोस् म जाँदा मेरो संकल्प छोड्ने छैन् ।’ त्यसपछि जालन्धर युद्धमा गए र वृन्दाले व्रत लिन थालिन र पूजामा बसिन्। उनको व्रतको प्रभावले देवताहरूले पनि जालन्धरलाई जित्न सकेनन् । जब सबै देवताहरू हार्न थाले, तब उनीहरू भगवान विष्णु कहाँ गए ।
जब सबैले भगवानसँग प्रार्थना गरे, भगवानले भने कि वृन्दा मेरो परम भक्त हुनुहुन्छ, म उसलाई धोका दिन सक्दिन, तर भगवानले भने, भगवान, यो अर्को उपाय छैन, अब तपाईं मात्र हामीलाई मद्दत गर्न सक्नुहुन्छ। भगवान जालन्धराको रूप धारण गरी वृन्दाको दरबारमा पुग्छन् । वृन्दाले आफ्नो पतिलाई देख्नेबित्तिकै पूजाबाट उठेर उहाँको पाउ छुइन् । उनको संकल्प टुट्नेबित्तिकै देवताहरूले युद्धमा जलन्धरलाई मारेर शिर काटिदिए । वृन्दाको दरबारमा उनको टाउको खस्यो, जब वृन्दाले आफ्नो श्रीमानको टाउको काटिएको देखिन,तब आफ्नो अगाडि उभिएको मान्छे को हो ? भन्न थालिन् ।
उनले सोधिन– तिमी को हौ, जसलाई मैले छोएँ, तब भगवान आफ्नो रूपमा आए तर केही बोल्न सकेनन्, वृन्दाले सबै कुरा बुझिन् । उसले देवताहरुलाई ढुङ्गा बन्न श्राप दिइन । देवताहरु तुरुन्तै ढुङ्गामा परिणत भए । सबै देवताहरू रुन थाले। लक्ष्मी रुन थालिन् र प्रार्थना गर्न थालिन्, तब वृन्दाले भगवानको श्राप छोडरे र पतिको शिर लिएर सती भइन्।
उनको खरानीबाट एउटा बिरुवा निस्क्यो, तब भगवान विष्णुले भन्नुभयो– आजदेखि उसको नाम तुलसी हो र यो ढुङ्गाको रूपमा मेरो एउटा रूप रहनेछ जसलाई तुलसीजीसँगै शालिग्रामको नामले पुजिन्छ र म ग्रहण गर्छु । तुलसी बिनाको खाना त्यसबेलादेखि सबैले तुलसीको पूजा गर्न थाले र कात्तिक महिनामा शालिग्राम सँग तुलसीको विवाह गरिन्छ । देउथनी एकादशीको दिनलाई तुलसी विवाहको रुपमा मनाइन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij