Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज ओली र विप्लबको जन्मदिन, ७० वर्ष लागेका ओलीले विप्लबलाई के दिंदैछन् ‘बर्थ डे’ गिफ्ट ?

आज ओली र विप्लबको जन्मदिन, ७० वर्ष लागेका ओलीले विप्लबलाई के दिंदैछन् ‘बर्थ डे’ गिफ्ट ?


  • 6.1K
    Shares

    आज ओली र विप्लबको जन्मदिन, ७० वर्ष लागेका ओलीले विप्लबलाई के दिंदैछन् ‘बर्थ डे’ गिफ्ट ?
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७० औं जन्मदिन मनाउँदैछन् । रोचक संयोग के भने भूमिगत आन्दोलनमा रहेका नेकपा विप्लव समूहका अध्यक्ष नेत्रविक्रम चन्दको जन्मदिन पनि आजै हो । दुई कम्युनिष्ट नेताको उमेरमा भने धेरै अन्तराल छ ।

    ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मेका हुन् भने चन्दको जन्म २०२४ साल फागुन ११ गते रोल्पामा भएको हो । यसरी चन्दभन्दा ओली १६ वर्षले जेठा छन् । उमेरमात्र नभएर ओली र चन्दमा वैचारिक र स्वभावजन्य अन्तरालहरू पनि यथेष्ट छन् । आज उनै ओलीले विप्लबको पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने चर्चा छ। 

    चन्द आजका दिनमा राज्यबाट प्रतिबन्धित समूहका नेता हुन् । विप्लव माओवादीले हिंसात्मक आन्दोलनमार्फत देशमा जनवाद स्थापना गर्ने लक्ष्य लिएको छ । केही हिंसात्मक गतिविधिहरू गरेपछि सरकारले २०७५ साल फागुनमा यो समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता समूहका नेताहरू भूमिगतरूपमा गतिविधि गर्दै आएका छन् । विप्लव पनि लामो समयदेखि भूमिगत छन् ।

    ओली पनि विगतमा कट्टरपन्थी कम्युनिष्ट नै थिए । झापामा भएको सशस्त्र विद्रोहलाई उनले अगुवाइ गरेका हुन् । एक हिसाबले भन्दा आज जुन ठाउँमा विप्लव छन्, त्यो ठाउँमा करिब ५ दशक अगाडि ओली थिए । आज ओलीको छवि अर्कै छ । कम्युनिष्ट ट्याग नहटाइसकेको भए पनि उनी प्रजातान्त्रिक धारका नेताका रूपमा चिनिएका छन् । पूर्वीय दर्शन र अध्यात्मतर्फ उनको झुकाव बढ्दो छ ।

    अहिले विप्लव समूहप्रति सरकार केही लचक बनेको छ । विप्लवले केही दिनअघि एक विज्ञप्ति जारी गरी सरकारसँग वार्तामा बस्न तयार रहेको उल्लेख गरेका थिए सरकारले पनि विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्ने मनस्थिति बनाइरहेको छ ।

    को हुन् विप्लव ?

    रोल्पाको केवरी भन्ने ठाउँमा चित्रबहादुर चन्द र खुसीमाया घर्तिका कान्छो सन्तानका रूपमा जन्मेका हुन् नेत्रविक्रम चन्द । माओवादी जनयुद्धमा सामेल भएपछि उनले भूमिगत नाम ‘विप्लव’ राखेका थिए र आजसम्म यही नामबाट चर्चित छन् ।

    मध्यमवर्गीय परिवारमा जन्मिएका चन्दको बाल्यकाल रोल्पामै बितेको थियो । उनले रोल्पाको सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । नेकपाका नेता कृष्णबहादुर महराका विद्यार्थी हुन् उनी ।

    चन्दले २०३९ सालमा अखिल छैटौंबाट राजनीति शुरू गरेका थिए । त्यसको ४ वर्षमा उनी विद्यार्थीका रोल्पा अध्यक्ष भए । त्यही वर्ष एसएलसी पास गरेका हुन् । एसएलसीपछि उनी काठमाडौं आएर कानून पढ्न नेपाल कानून क्याम्पस भर्ना भए ।

    २०४८ सालमा स्नातक पढ्दै गर्दा उनी एकता केन्द्र मसालको सदस्य बनेर सक्रिय राजनीतिमा होमिए । २०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसार्इ सर्‍यो । उनले कपिलवस्तुमा रहेको जग्गा पार्टीलाई बुझाएका थिए ।
    माओवादीले जनयुद्ध सुरु गर्दा उनी विद्यार्थी संगठनका उपाध्यक्ष थिए । साथै, पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी पनि उनलेपाएका थिए । पछि उनलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्ज बनायो ।

    २०५५ साल भदौमा भएको माओवादीको चौंथो विस्तारित बैठकबाट केन्द्रीय सदस्य बनेका विप्लव २०५९ सालमा पोलिटब्यूरोमा उक्लिए । २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्यूरो इन्चार्ज भए । कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि उनको चर्चा भएको थियो ।

    माओवादीमा उनी अध्यक्ष प्रचण्डको विश्वासपत्र थिए । तर, माओवादी शान्तिप्रक्रियामा आएपछि कट्टरपन्थी विप्लव प्रचण्डसित टाढिए । शान्ति प्रक्रियामा माओवादीले हस्ताक्षरा गरेकोमा नै उनी सन्तुष्ट थिएनन् । २०६९ सालमा माआवादीबाट अलग्गिएर मोहन वैद्यले नयाँ पार्टी खोल्दा उनी त्यततिर लागे । पछि वैद्यसित पनि कुरा नमिलेपछि २०७१ मा उनले आफ्नै नेतृत्वमा पार्टी बनाएका हुन् । अहिले उनी नेपाल कम्युनिष्ट पार्टीको महासचिव छन् ।

    शान्ति प्रक्रियापछि पनि कुनै लाभको पदमा नपुगेका थोरै नेतामध्ये उनी पर्छन् । २०७४ सालदेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । युवाहरुलाई सत्तापलटको सपना देखाएर हिंसात्मक गतिविधिमा लगाएका विप्लवका आफ्नै छोरा भने डाक्टर हुन् ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १३:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij