२०८२ भाद्र ८ गते आइतवार
काठमाण्डौ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफ्नै निर्णयका कारण सशंकित बन्न पुगेका छन्।
संसद विघटन गरेपछि ओलीकै नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले कानुनी र राजनीतिक लडाइँ सुरु गरे। त्यही लडाइँमा आफू नै सही भन्दै आएका ओली अहिले पराजित हुनुपर्ने हो कि भन्ने त्रासमा एकाएक पुगेका छन्।
उनले संवैधानिक भन्दै आएको विघटनालाई सर्वोच्च अदालतले असंवैधानिक करार गर्ला भन्ने चिन्ताले सताएको छ ओलीलाई। त्यसैले विघटनलाई सदर गर्न उनले सार्वजनिक रुपमा नै अदालतलाई दबाब दिएका छन्। विघटनबारे सर्वोच्चले फैसला दिन केही दिनमात्रै बाँकी रहँदा ओलीले आफ्नो 'कन्फिडेन्स लुज' गरेको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ।
केही समय अघिसम्म ओलीले प्रचण्ड(माधव नेपाल समूहले अदालत र निर्वाचन आयोगलाई धम्काएको आरोप लगाउँदै आएका थिए। अदालतलाई अरुले धम्की दिए पनि आफ्नै पक्षमा फैसला हुने ओलीको दाबी थियो।
अहिले ओली आफ्नो पहिलाको अडानबाट पछि हटेका छन्।
शनिवार विराटनगरको आमसभालाई सम्बोधन गर्दै ओलीले अदालतलाई धम्काए। देशभर भइरहेको प्रदर्शनलाई अदालतले हेरिरहेको होला भन्दै उनले प्रतिनिधिसभा विघटन बदर भए साढे दुई वर्षसम्म देश अस्थिर हुन सक्ने चेतावनी नै दिए।
'यदि कुनै प्रकारको जाल झेल, षड्यन्त्र, तिकडम केही भएर विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ,' उनले भनेका थिए।
सूर्य चिन्हलाई निर्वाचन आयोगमा ओलीले दर्ता गराएको दाबी गर्दै प्रचण्डले उक्त चिह्नमा निर्वाचनमा नलडेको दाबी गर्दै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न उनले निर्दशन दिएका थिए ।
ओली संसद विघटनलाई राजनीतिक मुद्दाका रुपमा मात्रै हेर्नुपर्ने अडानमा छन्। त्यसैले त सार्वजनिक रुपमा नै 'सेटिङ' हुनसक्ने भन्दै अदालतलाई धम्की दिएपछि उनको आलोचना भएको हो ।
प्रचण्ड नेपाल समूहले पनि 'सेटिङ' बाहेकको अवस्थामा आयोग र अदालतले आफ्नै पक्षमा फैसला गर्ने दाबी गरिरहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij