२०८२ भाद्र ४ गते बुधवार
ब्रह्मानन्द-चन्द्रमाया स्मृति कोष तथा प्रभात मा•वि•नःघःको संयुक्त आयोजनामा आयोजित अन्तर विद्यालय आधारभूत तहको प्रतियोगितात्मक स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम यही ज्येष्ठ १९ गते शुक्रवार सुसम्पन्न भएको छ । कार्यक्रममा नेपाल युवक मा•वि•की छात्रा सुजिना माझी प्रथम भई नगद रू• ५,०००/- आधा दर्जन पुस्तकसहित प्रमाणपत्र हासिल गरेकी छिन् भने बाल विकास आधारभूत विद्यालयका छात्र अमृत बि•क• तथा गीतामाता मा•वि•की छात्रा कृशला अधिकारीले क्रमशः द्वितीय र तृतीय स्थान ग्रहण गर्दै नगद रू• ४,०००/- तथा रू• ३,०००/- आधा दर्जन पुस्तकसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । त्यसै गरी शान्ति विद्या गृह मा•वि• की छात्रा एलिस्ना बोहोरा एवम् नेपाल आदर्श मा•वि• की सुजना रसाइली क्रमशः नगद रू• १,५००/- प्रमाणपत्र तथा आधा दर्जन पुस्तकसाथ सान्त्वना पुरस्कार विजेता बनेका छन् ।
१३ विद्यालयका २० छात्रछात्रा प्रतियोगी रहेको उक्त कार्यक्रममा आयोजक विद्यालय प्रभात मा•वि•का छात्र-छात्राहरू सिर्जना श्रेष्ठ, केशव बिस्ट तथा जुनुकुमारी बिस्टले अप्रतियोगी रचना वाचन गरेका थिए । पुरस्कृत विद्यार्थीहरूलाई प्रमुख अतिथि प्रकाश सायमीले नगद, बाल साहित्य अध्येता प्रमोद प्रधानले पुस्तकहरू, व्यवस्थापक रमेशानन्द वैद्यले प्रमाणपत्र, प्रधानाध्यापक राजेश्वरमान श्रेष्ठले टीका तथा वरिष्ठ साहित्यकार प्रा•डा• सुमन ढकाल तथा रूस्का वैद्यले खादा अर्पण गरेका थिए ।
मूल्याङ्कनकर्ताको सफलतम भूमिकामा देवकोटा लु सुन साहित्य प्रतिष्ठानका उपाध्यक्ष एवम् नेपाल बाल साहित्य समाजका सल्लाहकार रामबाबु सुवेदी, नेपाल बाल साहित्य समाज साथै बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान एवम् साहित्यिक मासिक मधुपर्कका ना• कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले रहेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले विद्यार्थीहरूको सिर्जनशील कर्मको मुक्तकण्ठले प्रशंसा गरे । रचनात्मक कार्यक्रमको व्यवस्थापनमा सघाएर साहित्यकार रमेशानन्द वैद्यले अनुकरणीय कर्म गरेको उनको कथन थियो । त्यसै गरी विशेष अतिथि साहित्यकार प्रा•डा• सुमन ढकालले आजका कलिला नानीहरू नै भावी नेपालका भाग्यनिर्माता भएको जिकिर गर्दै वैद्य परिवारले योगदान गरेको सिर्जनात्मक कर्म उदाहरणीय भएको बताए । भैरव पुरस्कार गुठीका सचिव, साहित्य सदनका कोषाध्यक्ष एवम् साहित्यकार तथा समाजसेवी वसन्त रिजालले स्व• भैरव अर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा निर्वाह गरेको अतुलनीय भूमिकाको बखान गर्दै हास्यव्यङ्ग्य र क्यारिकेचर जस्ता विधामा विद्यालयले कार्यक्रम आयोजना गरे आफ्नो संस्थाले आवश्यक सरसहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । एक फरक प्रसङ्गमा मिर्मीको मिर्मी आधारभूत विद्यालयले जसरी दिलोज्यान दिएर आफ्ना छात्रछात्रालाई बहुआयामिक बनाएको छ, इच्छाशक्ति भएमा सामुदायिक विद्यालय पनि उत्कृष्ट शैक्षिक केन्द्र बन्न सक्छन् भन्ने दृष्टान्त पेस गरेको छ भन्ने उनको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कयाम उद्दिनले अध्यक्षता गरेको सो कविता लेखन तथा वाचन कार्यक्रममा शान्ति विद्या गृहकी शिक्षक शान्ता खनाल, नेपाल आदर्श मा•वि•की शिक्षक सुजिता अविरल, गजलकार रवि प्राञ्जल, मुक्तककार मन भुजेल, गीतकार सुभाषचन्द्र ढुङ्गेल, कवि भानुप्रकाश जोशी, गायिकाद्वय रोजी र एन्जिला श्रेष्ठ तथा युवा कवि प्रशेन्जित शाक्यले पनि आआफ्ना रचना प्रस्तुत गरेका थिए ।
माधव घिमिरे 'अटल'ले सहजीकरण गरेको सो कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई विद्यालयका सहायक प्र•अ• रविन महर्जन र कार्यक्रम व्यवस्थापक रमेशानन्द वैद्यले स्वागत गरेका थिए भने प्र•अ• राजेश्वरमान श्रेष्ठले धन्यवाद ज्ञापन साथै समापन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij