२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । भोलि सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम पुग्ने भएका छन् । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो। पछि डिभिजन वन कार्यालय महेन्द्रनगरले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न नसकिने जनाएपछि उक्त औद्योगिक क्षेत्रको काम अलपत्र परेको थियो ।
उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम सुरु हुन लागेको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिए।
सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिएका छन्।
आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टले प्रधानमन्त्री आउने विषयमा जानकारी गराएका हुन्। उनले उक्त पत्रकार भेटघाटमा क्रममा भने, ‘सुदूरपश्चिम प्रदेश अब औद्योगिक विकास तर्फ लम्केको छ। प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहान कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउँदै हुनुहुन्छ। सुखी नेपालीको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।’
९ अरबको लागतमा ५ वर्ष भित्र सक्ने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाई छ। अहिले दुई सय ९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरु हुने र पछि एक हजार बिघामा विस्तार हुने बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij