२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । कर्मचारी सञ्चय कोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरिएको छ । सरकारले यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउने बनाएको हो ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने बताएका हुन् ।
बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए पत्नीले र पत्नी सञ्चयकर्ता भए पतिलेसमेत स्वास्थ्य उपचारको सुविधा पाउनेछन् । अहिलेसम्म सञ्चयकर्ताले मात्रै पाउँदै आएको उपचार खर्च पाउँदै आएका छन् ।
सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउने गरेको कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले बताए । बजेट वक्तव्यमार्फत गरिएको नयाँ व्यवस्था अनुसार पति वा पत्नी जो सञ्चयकर्ता भए पनि दुवैले खर्च पाउने गरी सुविधा विस्तार भएको प्रवक्ता भण्डारीको भनाई छ ।
हाल साढे पाँच लाख बढी सञ्चयकर्ताहरू कर्मचारी सञ्चय कोषमा आबद्ध रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij