२०८२ भाद्र २५ गते बुधवार
नेपालमा अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको देखिएको छ । आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत रहेकामा अहिले उक्त जनसङ्ख्या १५ दशमलव १ प्रतिशत रहेको अनुमान छ ।
बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या भने १७ दशमव चार प्रतिशत छ । प्रदेशगत जनसङ्ख्यामध्ये बहुआयामिक गरिबीमध्ये कर्णालीमा सबैभन्दा बढी ३९ दशमलव पाँच प्रतिशत र बागमतीमा सबैभन्दा कम सात प्रतिशत रहेको छ ।
आर्थिक सर्वेक्षणअनुसार नेपालको मानव विकास सूचकाङ्क शून्य दशमलव छ सय दुई पुगेको छ । मानव विकास प्रतिवेदन, सन् २०२१ मानव विकासको विश्व श्रेणीमा नेपाल एक सय ४३औँ स्थानमा छ ।
पछिल्ला वर्षमा मानव विकासका सूचकमा क्रमशः सुधार हुँदै गएको आर्थिक सर्वेक्षणमा जनाइएको छ । “शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक क्षेत्रमा बढ्दै गएको लगानीका कारण सामाजिक क्षेत्रका परिसूचकमा क्रमिक सुधार हुँदै गई मानव विकास सूचकाङ्क सन् १९९० देखि २०२१ सम्म वार्षिक औसत एक दशमलव ३४ प्रतिशतले बढेको छ”, आर्थिक सर्वेक्षणमा भनिएको छ ।
सरकारी तथा निजीस्तरबाट सञ्चालित कार्यक्रमबाट निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घट्दै गए पनि आन्तरिक रोजगारीमा पर्याप्त अवसर नहुँदा उचित अवसरको खोजीमा युवाशक्ति वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढ्दो छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij