२०८२ भाद्र २५ गते बुधवार
रुपन्देही । यहाँका होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारीपछि व्यवसायमा मन्दी छाएकाले भाडामा छुट दिन आग्रह गरेका हुन् ।
सङ्घका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक अभावका कारण भाडा तिर्नसक्ने अवस्था नरहेकाले घरभाडामा छुट दिँदा व्यवसायीलाई राहत मिल्ने बताए । संस्थागत पहलमा १४ जना घरधनीबाट २० देखि ४० प्रतिशतसम्म छुट प्राप्त भएको उनले जानकारी गराए ।
उनका अनुसार रूपन्देहीमा रहेकामध्ये ९० प्रतिशत होटल भाडामा सञ्चालित छन् । हाल सङ्घमा १ हजार २०३ व्यवसायी आबद्ध रहेको र ५ हजार व्यक्तिले रोजगार पाएको अध्यक्ष भण्डारीले बताए ।
पत्रकार सम्मेलनमा होटल व्यवसायी घरबहाल व्यवस्थापन समितिका संयोजक किरणप्रसाद भट्टराईले व्यवसायीलाई दैवीप्रकोपलगायतका कठिनाइमा संस्थाबाट सहयोग गर्दै आएको बताए।
सङ्घका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा एक हजार दुई सय ४७ वटा पर्यटक होटल रहेको बताउँदै यसमध्ये १८ हजार सात सय पाँच कोठा र २८ हजार ५७ शय्या रहेको जानकारी गराए।
सङ्घका अनुसार जिल्लामा पाँचतारे तीन वटा, चारतारे तीन वटा र तीन तारे करिब १५ होटल रहेका छन् । यस्तै ए लेभलका तीन सय होटल छन । यहाँ पर्यटन क्षेत्रमा कूल रु ३० खर्बभन्दा बढी लगानी रहेको खनालले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij