२०८२ माघ ८ गते बिहिवार
आज बेलुका ८ बजेदेखि हिमालय टेलिभिजनमा हाँस्य टेलिशृंखला सक्किगोनीको तेस्रो सिजन प्रसारण हुने भएको छ। लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुनेछ।
सिजन २ पछि केही समय विश्राम लिई दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको निर्माण टिमले बताएका छन्।
केही दिनअघि ‘सक्किगोनि’ को टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको थियो। मार्मिक टिजर सार्वजनिक गरे पनि ‘सक्किगोनि’ हाँस्य विधामा बन्ने बताएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको ‘सक्किगोनि’ मा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन्। कार्यक्रममा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, प्रियाना आचार्यलगायत कलाकारको अभिनय छ ।
‘देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ। मुलुकको पीडा, अभाव, नैराश्यताको बीचमा पनि मुस्कान लिएर आउँदैछौं भनेर कनेक्सन मात्र गर्न यस्तो टिजर बनाएको हो,’ निर्देशक कुमार कट्टेलले भने।
कार्यक्रमलाई अर्जुन घिमिरे (पाण्डे) र कुमार कट्टेल (जिग्री) ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij