२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ । सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ।
कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५–७५को रक्तचापमा २०–१० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वर्षिय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ।
रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ । रक्तचाप उच्च हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर नियमित व्यायाम गर्ने र चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय
– उच्च रक्तचाप भएमा तरबुजा तथा लिची खानु फाइदाजनक हुन्छ । तरबुजामा क्युकरबोसिट्रिन नामक तत्व पाइन्छ । जसले रक्तबाहिनीलाई चौडा बनाउन मद्दत गर्छ । साथै मिर्गौलालाई सही ढंगले काम गर्न समेत सघाउ पुर्याउँछ ।
– प्याजको रसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । जसले रक्तचाप कम गर्न मद्दत गर्छ । एक चम्चा प्याजको रसमा एक चम्चा शुद्ध मह मिसाएर खाए शरीरलाई आराम मिल्छ ।
– गाजरको मुरब्बा बनाएर खाँदा पनि उच्च रक्तचापमा फाइदा गर्छ ।
– मनतातो पानीका साथमा नियमित रूपमा दालचिनी पाउडरको सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्याउँछ ।
– मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाउन राखी बिहान उठेर त्यसको सेवन गर्नाले पनि रक्तचाप तुरुन्तै नियन्त्रणमा आउँछ ।
– विहान खाली पेटमा लौकाको जुस सेवन गर्दा रक्तचाप नियन्त्रण हुनुका साथै सुगर कोलेस्ट्रोलजस्तो घातक रोग लाग्नबाट समेत जोगिन सकिन्छ ।
– त्यसैगरी, कागतीको रसको सेवनले पनि रक्तबाहिनीलाई चौडा बनाउन मद्दत गर्छ । जसका कारण रक्त प्रवाह राम्ररी भई रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ।
– लसुनलाई आयुर्वेदिक औषधीका रूपमा प्रयोग गरिएको पाइन्छ । लसुनमा औषधीय गुण भएकै कारण यसले उच्च रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्याउने विज्ञहरूको दाबी छ ।
– केराको सेवन पनि उच्च रक्तचापका बिरामीलाई निकै फाइदाजनक मानिन्छ । केरामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ, जसले शरीरमा सोडियमको प्रभाव कम गर्न मद्दत गर्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्ने आयुर्वेदिक उपचार
– उच्च रक्तचाप नियन्त्रण गर्न गौमूत्र पनि निकै उपयोगी मानिन्छ । विहान खाली पेटमा आधा कप गौमूत्र नियमित रूपमा पिउनाले रक्तचाप सम्बन्धी कुनै पनि समस्या समाधान हुन्छ ।
– अमला, अश्वगन्धा, सर्पगन्धा एवं अर्जुन वृक्षको बाहिरी बोक्रालाई बराबर मात्रामा पिसेर त्यसको चूर्णलाई विहान बेलुकी सेवन गर्नाले पनि उच्च रक्तचाप नियन्त्रण हुन्छ ।
– एक– एक ग्राम सुकेको धनियालाई तथा सर्पगन्धालाई दुई ग्राम मिश्रीमा पिसेर त्यसको चूर्ण पानीका साथ सेवन गर्नाले पनि उच्च रक्तचाप नियन्त्रित हुन्छ ।
उच्च रक्तचाप भएकाले खानै नहुने खानेकुराहरु
१. अचार : अचार चाहे जे को होस्, उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ । अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ ।
२. पापड : पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ ।
३. अल्कोहल : मदिरा सेवन उच्च रक्तचाप भएकाहरुका लागि निकै घातक सावित हुनसक्छ । अल्कोहलले रक्तचाप झनै बढाउँछ । यसले रक्तनलीको भित्तामा क्षति पूराउँछ र जोखिम झनै बढाउँछ ।
४. चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन । तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ । पानी नहालेको एक कप दुधमा ८ ग्राम चिल्लो हुन्छ । ८ ग्राममध्ये ५ ग्राम त संतृप्त फ्याट हो जुन सरीरका लागि हानिकारक हुन्छ । त्यसकारण फ्याट निकालेको दुध पिउनु राम्रो हुन्छ ।
५. डुनोट : डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन । यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ ।
६. चाउचाउ तथा अन्य फास्टफुड : तयारी चाउचाउ निकै सजिलो तथा स्वादिलो खाजा हो । तर उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । नुनमा पाइने सोडियमको मात्रा धेरै भयो भने मुटु तथा रक्तनलीमै क्षति पूराउने र रक्तचाप उल्लेखनीय रुपमा बढ्ने जोखिम हुन्छ ।
७. चिनी : चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ । यसले मोटोपना बढाउने हुनाले स्वतःः रक्तचाप पनि बढाउँछ ।
८. कफी : कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नु हुँदैन ।
उच्च रक्तचापका कारणहरु यस्ता छन्:
– उच्च कोलेस्टेरोल: उच्च कोलेस्टेरोल भएका व्यक्तिले कोलेस्टेरोल नियन्त्रणका लागि डाक्टरको सल्लाह बमोजिम आहार र औषधि खानुपर्छ र कोलेस्टेरोललाई नियन्त्रणमा ल्याउनुपर्छ। तल उल्लेखित 'ड्यास' भोजन कोलेस्टेरोल नियन्त्रणको उद्देश्यले नबनाइएको भए पनि उक्त भोजनशैलीले कोलेस्टेरोललाई नियन्त्रण गर्न सकिन्छ।
– धूमपान र मध्यपान: धूमपान र मध्यपानले रक्तचाप बढाउनुका साथै अन्य रोगहरु (क्यान्सर, मुटुरोग, कलेजोको रोग आदि) लाई प्रोत्साहन गर्छ। तसर्थ स्वास्थ्य व्यक्तिका साथसाथै उच्च रक्तचापको जोखिममा रहेका व्यक्तिले धूमपान र मध्यपान सेवनमा नियन्त्रण ल्याउनु जरुरि छ।
– चिनिरोगीः चिनीरोगीहरु धेरैलाई उच्च रक्तचाप देखापर्छ। चिनिरोगीहरुले आफ्नो रक्तचाप समय-समयमा जाँच गराउने तथा डाइटिसियनको सल्लाहमा आफ्नो तौल, उचाईलाई मध्यनजर गरेर सन्तुलित आहार खानुपर्छ।
– मोटोपनाः मोटोपनाले रक्तचाप बढाउने भएकाले तौल नियन्त्रणमा राख्नुपर्छ। तौलसँगसँगै कम्मरको चौडाइमा कति परिवर्तन आएको छ भनेर पनि विचार गर्नुपर्छ। महिलाको कम्मरको चौडाइ ३५ इन्चभन्दा धेरै र पुरुषको कम्मरको चौडाइ ४० इन्च भन्दा धेरै भएमा उच्च रक्तचापका साथै धेरै रोग लाग्ने सम्भावना बढ्ने अध्ययनहरुले पुष्टि गरेका छन्। यसरी कम्मरको चौडाइ नाप्दा नाइँटोको वरिपरि नाप्नुपर्छ।
– शारीरिक निस्क्रियताः हरेक स्वस्थ व्यक्तिले दिनको ३० मिनेट व्यायाम गर्ने अथवा हिँडडुल गर्नुपर्छ। उच्च रक्तचाप र कोलेस्टेरोल घटाउन भने दिनको ४० मिनट जति व्यायाम अथवा हिँडडुल उपयुक्त हुन्छ। यसरी व्यायाम गर्दा अथवा हिँड्दा कम्तिमा पनि लगातार १० देखि १५ मिनेट रोकिनु हुँदैन। मुटुको चाल बढ्ने गरि र पसिना आउने गरी व्यायाम गर्नुपर्छ।
विभिन्न एजेन्सीको सहयोगमा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij