२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
मङ्गलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका छन्। उनले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए ।
मन्त्री बस्नेतले शिक्षा समितिले पनि यस बारेमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए । सोही प्रसङ्गलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताए।
‘‘शुल्क तिर्न नसकेकै आधारमा कोही पनि विद्यार्थीले मर्नु नपर्ने स्थिति सरकारबाट सिर्जना हुनुपर्छ, त्यो वातावरण सरकारले निर्माण गर्नुपर्छ । समितिले यो कुरा अघि बढाउनुपर्छ । मैले आफ्नो जिल्लाका केही पालिकाहरूमा यसबारेमा भनिसकेको पनि छु ।,’’ स्वास्थ्य मन्त्री बस्नेतले भने ‘‘यो विभिन्न खाले प्राकृतिक विपत्ती म धेरै खटिरहने मान्छे हो, बाढी, पहिरो, कोभिडलगायतको जोखिमबाट मुक्त हुन स्वास्थ्य क्षेत्रमा लगानी बढाइ स्वास्थ्य सेवा सर्वसुलभ र विस्तार गर्न जरुरी छ ।’’
शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व ज्येष्ठ सदस्यको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कालुराम राईले गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij