२०८२ फाल्गुण २४ गते आइतवार
काडमाडौं । निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ।
आयोगद्वारा जारी पत्रमा उम्मेदवारी खारेजीसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट अन्तिम आदेश नआएसम्म मतपरिणाम सार्वजनिक नगर्न भनिएको उल्लेख छ।
आयोगको बैठकले गरेको निर्णयअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई लिखित रूपमा परिणाम घोषणा स्थगित गर्न निर्देशन पठाइएको जनाइएको छ।
आयोगका अनुसार उक्त प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भई सुनुवाइ प्रक्रियामा रहेकाले अदालतको आदेशपछि मात्रै थप प्रक्रिया अघि बढाइनेछ। यस सम्बन्धमा प्रदेश निर्वाचन कार्यालय धनुषालाई समेत जानकारी गराइएको आयोगले जनाएको छ।
मतदान पूर्व मौन अवधि सुरु भएकै दिन फागुन १९ गते आयोगले उजुरीको अधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको थियो। सोही दिन उम्मेदवार साहले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij