Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एसिया कप पाकिस्तानबाट सार्ने तयारी, आयोजनाका लागि श्रीलंका इच्छुक

एसिया कप पाकिस्तानबाट सार्ने तयारी, आयोजनाका लागि श्रीलंका इच्छुक


  • 2.3K
    Shares

    • images
    एसिया कप पाकिस्तानबाट सार्ने तयारी, आयोजनाका लागि श्रीलंका इच्छुक
    images

    काठमाडौं । यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपबारे हरेक दिन नयाँ विषय बाहिरिइरहेको छ ।

    राजनीतिक तिक्तताका कारण भारतीय क्रिकेट टिम (बीसीसीआई) पाकिस्तान भ्रमण नगर्नेमा अडानमा अडिग छ । पाकिस्तान पनि एसिया कपको १६औँ संस्करण आयोजना गर्ने मौका गुमाउन चाहँदैन । यी दुई राष्ट्रबीचको फरक–फरक ढिपीका कारण एसिया कपको यो संस्करण रद्द हुने चर्चा चुलिँदो छ ।

    यसैबीच, पाकिस्तानी सञ्चार संस्था जियो न्युजले  नयाँ खुलासा गरेको छ । त्यसानुसार पाकिस्तानले आफ्नो देशभन्दा बाहिर एसिया कप खेल्न अस्वीकार गरे यूएईलाई मौका दिइने सम्भावना छ । प्रतियोगिता फरक देशमा आयोजना गर्ने विषयमा एसियन क्रिकेट काउन्सिलले विचार गरिरहेको जियो न्युजले जनाएको छ ।

    योपटकको एसिया कपमा कुल ६ टिमले सहभागिता जनाउनेछन् । यी टिमको टुंगो लागिसकेको छ । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालको सहभागिता रहनेछ ।

    एसिया कप खेल्नका लागि पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले पठाएको निमन्त्रणा बीसीसीआईले अस्वीकार गरेको छ । बीसीसीआईले एसिया कप पाकिस्तानबाहिर ‘तटस्थ भूमि’मा आयोजना गर्न एसीसीमाथि दबाब बढाइरहेको छ । एसिया कप पाकिस्तानबाहिर गर्ने भारतको रणनीतिमा श्रीलंका र बंगलादेशले सहयोग गरिरहेको जियो न्युजको जिकिर छ ।

    भारतले आफ्नो देश भ्रमणमा अनिच्छा देखाएपछि केही लचिलो बनेको पाकिस्तानले बीसीसीआईलाई ‘हाइब्रिड मोडेल’को प्रस्ताव गरेको थियो । एसिया कप पाकिस्तानमै हुने भए पनि भारतका खेलहरू तटस्थ भूमिमा सञ्चालन गर्ने प्रस्ताव थियो । भारतले पाकिस्तानको यो प्रस्तावमा पनि सहमति जनाएको छैन ।

    यसअघि, पीसीबीका व्यवस्थापन कमिटीका प्रमुख नाजम सेठीले एसिया कपको सफल आयोजना र यस वर्षको एकदिवसीय विश्वकपमा पाकिस्तानको सहभागितालाई खतरामा पार्ने संकट समाधान गर्न आह्वान गरेका थिए । सेठीले एकदिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानी टोली भारत जाने सम्भावना न्यून रहेको बताएका थिए ।

    “यदि, भारतले पाकिस्तानमा हुने एसिया कपमा सहभागिता नजनाए पाकिस्तानी सरकारले एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टिमलाई भारत भ्रमणको अनुमति दिने छैन । यदि, यस्तो भएको खण्डमा क्रिकेट चरम पीडित बन्नेछ,” सेठीले भने ।

    सेठीले थपे, “एसीसी र आईसीसीका प्रतियोगिता सहज रूपमा आयोजना हुने कुरामा डरका रूपमा रहेको यो समस्याको समाधान गर्न बीचको बाटो हुनुपर्छ ।”

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - १३:५१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij