२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पहिले प्रतिनिधिसभा विघटनविरुद्ध आगो ओकलेर पछि क्याम्प परिवर्तन गर्दै मन्त्री बनेका पूर्वमाओवादी नेता प्रभू साह आज सँगै सिमरा पुगेका छन् ।
बुद्ध एअरको उडान नम्बर ९एन एआईटी ५५१ मा शहरी विकास मन्त्री शाहसँगै उनका पूर्वसुप्रिम कमाण्डर दाहाल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मधेश झरेका हुन् ।
उडानअघि उनीहरु आन्तरिक विमानस्थलको भीआइपी लाउञ्जमा एकछिन सँगै बस्दा सामान्य हालखबर र सञ्चो बिसञ्चोको सोधनी भएको स्रोतको दाबी छ । अध्यक्ष दाहालले ‘के छ प्रभूजी ?’ भनेपछि उनी आजको अप्रत्यासित जम्काभेटमा लाजले काठमाण्डौंको जाडोमा पनि असिनपसिन भएका थिए । प्रचण्ड देख्ने बित्तिकै अर्कै तिर छलिएर भाग्न खोजे पनि नमिलेको सुरक्षा श्रोतको भनाई छ। अघिल्लो दिनसम्म प्रचण्डसँग र भोलिपल्ट मन्त्री पाएपछि क्याम्प चेञ्ज गरेकाले साह लाजले भुतुक्क भएको बताइन्छ । त्यसैले उनीहरु बीच त्यति लामो कुरा भएन ।
अध्यक्ष प्रचण्ड पर्सि शनिवार अख्तियार प्रमुख प्रेम राई र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको गृहजिल्ला संखुवासभा जाने कार्यक्रम छ । त्यहाँका नगरपालिका र गाउँपालिकामा अहिले ओली खेमाको बाहुल्य रहेको बताइन्छ । नेकपा (बहुमत)ले संखुवासभामा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाल त्यता जान लागेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij