२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले हिजोको आफ्नो बहसलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति आज इजलासमा आपत्ति जनाएका छन् । न्यायाधीशहरूले र्याखर्याख्ती पारेको भनेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेको भन्दै उनले असन्तुष्टी ब्यक्त गरेका हुन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिएका मैनालीलाई इजलासले प्रश्नैप्रश्न गरेको थियो । आज आफ्नो बहसलाई निरन्तरता दिएका उनलाई फेरि प्रश्न सोधिएपछि सञ्चारमाध्यममा आएका समाचारबारे असन्तुष्टि जनाएका हुन् ।
नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री संसद विघटन गर्न बाध्य हुनुपरेको भन्दै हिजोको बहसलाई अगाडि बढाएका मैनालीलाई न्यायाधीश अनिलकुमार सिन्हाले नेकपाको विवादका कारण संसद विघटन गर्न मिल्छ कि मिल्दैन भनेर हिजो सोधिएको प्रश्नलाई आज पनि दोहोर्याएका थिए ।
‘पार्टीको आफ्नै विधान हुन्छ, पार्टीको विवाद त्यहि विधानअन्तरगत रहेर समाधान हुनुपर्ने हैन र ? नेकपाको विवादको शिकार प्रतिनिधिसभा भइदिनुपर्ने ? पार्टीको विवादले उत्पन्न समस्याको नतिजा जनताले व्यहोर्नुपर्ने ?,’ सिन्हाले प्रश्न गरे ।
मैनालीले आफू एमिकस क्युरीको तर्फबाट राय दिन आएको भए पनि मिडियाले र्याख्र्याख्ती पारेको भनेर समाचार लेखेको भन्दै असनतुष्टी जनाउँदै जवाफ दिन थाले । ‘हिजो इजलासमा र्याख्र्याख्ती पारियो भनेर समाचार आयो, यो कस्तो पत्रकारिता हो ?’
उनले नेकपामा विवाद र विग्रह देखिए पनि आधिकारिक रुपमा संसदीय दलमा नआएकाले संसदको विषय नबनेको बताए।
‘पार्टीभित्रको विवादको आधिकारिकता अझै विवादमा छ । केही विग्रह, असहमति अवश्य पनि देखिएका छन्, तर त्यो विवादबारे संसदीय दलमा प्रक्रिया शुरू नै भएन,’ उनले भने, ‘दलको नेताले आफूलाई विश्वास गुमेको या नगुमेको भन्ने कुरा पार्टीमा पटक पटक टेष्ट गर्नु पर्दैन ।’
एकपटक दलको नेता चयन भइसकेपछि दलमा फेरि विश्वास लिन आवश्यक नपर्ने भन्दै उनले भने, ‘म वकिल हो कि होइन भनेर मैले कतिपटक टेष्ट गर्ने ? प्रमाणपत्र खोज्दै कतिपटक हिँडने ?’ त्यति भनेपछि मैनालीको बहस पनि सकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij