Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्र बने १६ सेकेन्डमै विजेता

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्र बने १६ सेकेन्डमै विजेता


  • 2.1K
    Shares

    • images
    एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्र बने १६ सेकेन्डमै विजेता
    images

    काठमाडौं । अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् ।

    नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे । फाइनल जित्न इन्द्रलाई मात्र १६ सेकेन्ड समय लाग्यो । चार मिनेटको पूरा खेलमा इन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनीषलाई १६ सेकेन्डमै हराएका थिए । नेपाल आर्मीका किरण भट्टराई तथा बागमती प्रदेशका प्रवीण पाण्डे तेस्रो भए ।

    नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा भएको महिला ४८ केजी मुनि फाइनलमा बागमतीकी निशाले एपीएफ क्लबकी रत्ना तामाङलाई हराइन् । लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेस्रो बने ।

    ५२ केजी मुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना डंगाललाई पाखा लगाइन् ।

    कर्णालीकी अनिता बुढा तथा प्रहरीकी प्रतिभा पुलामी मगर तेस्रो स्थानमा रहे । इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

    महिला ५७ केजी मुनि आर्मीकी सिमाकुमारी चिडीले फाइनलमा एपीएफकी सुनिता थिङलाई पन्छ्याउदै स्वर्ण चुमिन् । बागमतीकी अन्जु पाण्डे तथा कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पारे ।

    ६३ केजी मुनि प्रहरीकी दिलकुमारी छन्त्यालले बाजी मारिन् । दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको चुनौती पन्छाइन् । कर्णालीकी बन्दना कुलुङ तथा लुम्बिनीकी निर्मल कुँवर तेस्रो भए ।

    पुरुष ६० केजी मुनि कर्णालीका प्रवीणकुमार दियालीले शीर्ष स्थान कब्जा गरे । उनले फाइनलमा लुम्बिनीका विकास विकलाई पाखा लगाए । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दिपक रास्कोटीले तेस्रो स्थानमा चित्त बुझाए ।

    ७३ केजी मुनि एपीएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनिल नगरकोटीमाथि जित रचे । लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा भदाइ तेस्रो भए ।

    प्रतियोगिताको राखेपका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उदघाटन गरेका थिए । पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको छिनोफानो भएको छ ।

    यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । उनका अनुसार प्रत्येक तौल समूहबाट ४ खेलाडी प्रारम्भिक चरणमा छनोट हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी ११६ खेलाडी सहभागी छन् ।

     

    प्रकाशित मिति :बैशाख ७ २०८० बिहिवार - ०९:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij