२०८२ मंसिर १ गते सोमवार
वायु प्रदूषणले पोखराको मौसम बिग्रिँदा उडान-अवतरण दुई दिनदेखि प्रभावित भएको छ । धुँवा–धुलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई दिनदेखि रोकिएको छ ।
गत शुक्रबारदेखि मौसम बिग्रिएर भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको हो । विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमा आधारित भएर गरिने उडान (आइएफआर) भए पनि ३७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । अहिले २ हजारमात्रै छ ।
‘आँखाले धुवाँ-धुलो देखिँदैन । तर, त्यसले अगाडि हेर्ने दूरी घटाउँछ । ३७ सय मिटरभन्दा कम भयो भने उडान हुन सक्दैन,’ उनले भने, ‘आजको अवस्थ हिजोभन्दा राम्रो हुने देखिन्छ । ३-४ बजेसम्म उडान हुन्छ भन्ने आश गरेका छौँ ।’
बिहीबार राति पोखरामै बसेका दुई विमान शुक्रबार बिहान काठमाडौं उडेका थिए । त्यसपछि शुक्रबार दिनभर, शनिबार र आइतबार बिहानसम्म उडान हुन सकेको छैन । उडान नहुँदा नयाँ वर्षमा पोखरा घुम्न आउने र फर्किने पर्यटक प्रभावित भएका छन् । उडान हुने आशमा आज पनि यात्रु विमानस्थल पुगेका छन् । तर, उनीहरू पर्खेर बस्नुपरेको छ ।
उडान नियमित हुन आकाश सफा हुनैपर्ने अवस्था छ । ‘त्यो हट्न कि ठूलो हावा आउनुपर्छ । नभए आकाशबाट पानी पर्नुपर्छ । त्यो भयो भने धुलोको कण जमिनमा खसाल्छ,’ प्रमुख गौतमले भने ।
पोखराबाट बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले उडान भर्छन् । पोखराको विमानस्थलबाट दैनिक ६० उडान-अवतरण हुने गरेको छ । पोखरा विमानस्थलबाट काठमाडौं, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, भरतपुर, जनकपुर, मुस्ताङलगायत गन्तव्यमा उडान हुने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij