२०८२ माघ १४ गते बुधवार
सेयरबजार आज ह्वात्तै बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ९२.२२ अंकले नेप्से बढेर १९६३.५५ विन्दुमा पुगेको हो। लगातार ओरालो लागिरहेको सेयरबजारमा बुधबार नेपाल बैंकर्स संघले गरेको निक्षेप ब्याजदर एकल अंकमा झार्ने निर्णयको सकारात्मक प्रभाव देखिएको हो।
सो निर्णयसँगै बजार ४.९३ प्रतिशतले उकालो लागेको हो। आज कुनै पनि कम्पनीका लगानीकर्ताले गुमाएका छैनन्। सबै २१८ कम्पनीको सेयर मूल्य बढेको हो।
योसँगै कारोबार रकम पनि दोब्बरले बढेको छ। अघिल्लो दिन १ अर्बको पनि खरिदबिक्री नभएकोमा बुधबार भने १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको हो। दिनभरिमा ४७ हजार पटक खरिदबिक्री भएको छ भने ६० लाख बढी कित्ता सेयर किनबेच भएका छन्।
आज पाँचवटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेको छ। तिनमा सिद्धार्थ इक्विटी फन्ड, सिटिजन म्युचुअल फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, आदर्श लघुवित्त र खप्तड लघुवित्त रहेका छन्।
आज बजारमा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ११ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij