२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारको बहस सुरु भएको छ । अहिले एमिकस क्युरीका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राय राखिरहेका छन् ।
बहस सुन्ने आममानिस र पत्रकारका लागि भन्दै खरेलले बेन्च गठनमा प्रश्न उठेको विषय उठाए । उनले भने– ‘‘छापामा, आममानिसले, नेताले व्यक्तिको निश्चित स्वार्थ पूरा हुने गरी बेन्च गठन भयो भनेर प्रश्न उठाए । तर, मलाई लाग्छ यो पाँचजनाको इजलासले यो प्रश्नको जवाफ दिनेछ ।’’
०२७ सालमा यस्तै प्रश्न उठेपछि एउटै विषयको मुद्दा आठजना न्यायाधीशले बाँडेर फैसला गरेको स्मरण खरेलले गरे । हिजो वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा सोमबार पक्ष–विपक्षको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीले राय राखिरहेको हो ।
नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी छ । पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेलको एमिकस क्युरीले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय राख्नेछन् । एमिकस क्युरीको राय सुनेपछि केही दिनमै इजलासले फैसला सुनाउनेछ ।
गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । विघटन असंवैधानिक भन्दै दायर १३ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij