२०८२ मंसिर ३ गते बुधवार
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी कंग्रेसकी सांसद जुडी चुबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार चुको कार्यालय क्यापिटल हिलमा भेटवार्ता भएको वासिङ्टन डीसीस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । साथै, जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जीएसपी) को पुन:प्रमाणीकरण र ट्रेड फेसिलिटेसन एन्ड इन्फोर्समेन्ट एक्ट (टीएफटीईए)–२०१५ को विषयमा छलफल भएको थियो । राजदूत खत्रीले सांसद चुलाई अमेरिकी कंग्रेसको नेपाल ककस (अमेरिकी सासदहरूको नेपाल समूह) मा सहभागी हुन आग्रह पनि गरेका थिए ।
चु क्यालिफोर्निया राज्यबाट निर्वाचन जितेर आएकी डेमोक्य्राट हुन् । उनी यसरी निर्वाचन जितेर अमेरिकी कंग्रेसमा पुग्ने पहिलो चिनियाँ मूलकी अमेरिकी हुन् । उनी सन् २००९ देखि सांसद छिन् ।
यस्तै, शुक्रबार राजदूत खत्रीले यूएसएआईडी एसिया क्षेत्रकी उपसहायक एडमिनिस्टेटर अञ्जली कौरसँग भेटवार्ता गरे । दूतावासका अनुसार उक्त अवसरमा नेपाल र अमेरिका बीचको विकास सहयोगमा साझा चासोको विषय कुराकानी भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij