नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ ।
अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर यसको कारोबार खुला भएको हो । ‘केडीएल’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।
यता, एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट सेयर कारोबार खुला भएको हो ।
‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ । नेप्सेमा यी दुवै कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो । कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।