Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

आजदेखि चैत्र नवरात्र शुरु, देवीको पूजा उपासना गरी देशभर मनाईंदै

आजदेखि चैत्र नवरात्र शुरु, देवीको पूजा उपासना गरी देशभर मनाईंदै


  • 2.3K
    Shares

    आजदेखि चैत्र नवरात्र शुरु, देवीको पूजा उपासना गरी देशभर मनाईंदै
    images

    चैत्र शुक्ल प्रतिपदाअर्थात् आजदेखि चैत्र नवरात्र शुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।

    वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

    चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत १५ गते अष्टमी र १६ गते रामनवमी पर्व परेको छ । वर्षमा चार नवरात्र पर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा पर्ने चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ ।

    आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको छ । चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

    यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - ११:४३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij