२०८२ भाद्र १० गते मंगलवार
नेपाली क्रिकेट टिम विश्वकप खेल्नबाट अब एक कदम टाढा छ। आईसीसी लिग २ मा खराब सुरुवात गरेको नेपालले शानदार पुनरागमन गर्दै सिधै विश्वकप छनोटमा स्थान बनायो।
सुरुका २४ खेलमा ८ खेल मात्रै जितेको नेपालले अन्तिमका १२ मध्ये ११ खेलको नतिजा आफ्नो पक्षमा पार्दा सिधै विश्वकप छनोटमा पुग्न सफल भएको हो।
अब नेपालले १० टोली सहभागी हुने विश्वकप छनोट खेल्नेछ। यी मध्ये शीर्ष २ टोलीले मात्रै विश्वकपमा स्थान बनाउने छन्। विश्वकप खेल्नका लागि अब नेपाल टेस्टराष्ट्रसँग भिडेर शीर्ष २ मा पर्नुपर्छ।
विश्वकप खेल्ने ७ टोलीको टुंगो लागिसकेको छ। आयोजक भारत, इङ्ल्याण्ड, न्यु जिल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान विश्वकपमा छनोट भइसकेका छन्।
अब साउथ अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्ड मध्ये एक टोली पनि सिधै छनोट हुनेछ। यी मध्ये ३ टोली भने जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछन्।
लिग २ – ३ टिम
लिग २ बाट विश्वकप छनोट खेल्ने नेपालसहित ३ टोलीको टुंगो लागेको छ। स्कटल्याण्ड, ओमान र नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएका छन्।
७ टोली सम्मिलित लिग २ बाट शीर्ष ३ स्थानमा पर्ने टोली सिधै विश्वकप छनोटमा पुगेका हुन्। तर लिग २ का बाँकी ४ टोलीको पनि विश्वकप छनोटमा पुग्ने सम्भावना बाँकी छ। यसका उनीहरुले प्लेअफ खेल्नु पर्नेछ।
प्लेअफ – २ टिम
लिग २ को शीर्ष ३ मा नअटाएका ४ टोली र च्यालेन्ज लिगका २ राष्ट्रले अब प्लेअफ खेल्नेछन्। प्लेअफबाट २ शीर्ष टोली विश्वकप छनोट खेल्न जिम्बावे पुग्नेछन्।
लिग २ का नामिविया, अमेरिका, युएई र पपुवा न्यु गिनीले प्लेअफ खेल्नु पर्नेछ। यस्तै च्यालेन्ज लिगको समूह ए को विजेता क्यानडा र समूह बी को विजेता जर्सी पनि प्लेअफ खेल्नेछ। यी ६ राष्ट्रबीचको भीडन्तबाट विश्वकप छनोटमा पुग्ने थप २ टोलीको पनि टुंगो लाग्नेछ।
विश्वकप छनोट
सुपर लिगबाट ३ र प्लेअफबाट २ टोलीको टुंगो लागेसँगै विश्वकप छनोट खेल्ने १० टोली निश्चित हुनेछ। यी १० टोलीलाई ५र५ गरी दुई समूहमा विभाजन गरिनेछ। जिम्बावेमा हुने छनोट खेलमा ५ टोली मध्ये पनि दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।
त्यसपछि सुपर सिक्समा पर्ने टोलिबिच भिडन्त हुनेछ। सुपर सिक्सका २ टोलीले आईसीसी विश्वकपमा स्थान बनाउने छन्।
विश्वकप क्रिकेट आगामी अक्टोबर – नोभेम्बरमा भारतमा हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij