Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

२९ फागुन मै शीतलनिवास छाड्ने राष्ट्रपति भण्डारीको तयारी

२९ फागुन मै शीतलनिवास छाड्ने राष्ट्रपति भण्डारीको तयारी


  • 1.9K
    Shares

    २९ फागुन मै शीतलनिवास छाड्ने राष्ट्रपति भण्डारीको तयारी
    images

    काठमाडौं । कार्यकाल सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास छाड्ने तयारी गरेकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले शपथ खाने दिन (२९ फागुन) मा नै उनी शीतलनिवासबाट बाहिरिने सम्भावना छ ।

    २०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनको पाँच वर्षीय कार्यकाल पनि २९ गते नै पूरा हुन्छ । सोही दिन नयाँ राष्ट्रपतिको शपथग्रहण तय भइसकेको छ । कामु प्रधानन्यायधीस दिपक कार्कीले पौडेललाई सपथग्रहण गराउनेछन्, जुन कार्यक्रममा निवर्तमान राष्ट्रपति भण्डारीका पनि सहभागिता रहन्छ ।

    राष्ट्रपति चुनावको मतपरिणाम आएकै दिनदेखि कार्यकालको गणना हुने संवैधानिक व्यवस्था छ । त्यसैले पौडेलको राष्ट्रपतीय कार्यकाल हिजैबाट सुरू भइसकेको छ । तर, भण्डारीको कार्यकाल पर्सिसम्म बाँकी छ । यसरी हेर्दा एकैपटक दुई राष्ट्रपति देशमा बहाल रहेको विरोधाभास संविधानले नै पैदा गरेको छ ।

    व्यवहारिक हिसाबले भने २८ गतेसम्म भण्डारीले राष्ट्रपतिको रूपमा काम गर्न पाउनेछिन् । त्यसपछि उनी स्वतः पदमुक्त बन्नेछिन् । २९ गते उनले शीतलनिवास छाड्ने भनिए पनि त्यहाँबाट कहाँ जाने निधो भइसकेको छैन । बूढानीलकण्ठ नगरपालिका-२ मा रहेको उनको निजी निवासमा अहिले कन्स्ट्रक्सनको काम चलिरहेको छ । भण्डारीको सुरक्षाका लागि राखिने सैन्य दस्ताका लागि घर कम्पाउन्डमा बासस्थान बनाउने काम भइरहेको स्रोतले बतायो । सेनाले नै आफ्नो आवश्यकता अनुसार त्यहाँको काम गरिरहेको छ ।

    पर्सिसम्म काम नसकिने भएकाले भण्डारी सम्भवतः केही दिन आफ्नो देवरको घरमा बस्न सक्छिन् । उनका देवर कैलाश भण्डारीको घर पुरानो बानेश्वरमा छ ।

    राष्ट्रपति भण्डारीको घर बूढानीलकण्ठ नगरपालिका-२ स्थित माथिल्लो भंगालको निलबराही टोलमा अवस्थित छ । यो घर उनले सात वर्षअगाडि बनाएकी हुन् । थापागाउँस्थित भाडाको घरमा बस्दै आएकी भण्डारी २०७२ सालको वैशाख १६ गते आफ्नो घरमा सर्ने तयारीमा थिइन् । तर, वैशाख १२ मा आएको भूकम्पले घरमा सामान्य क्षति पुगेपछि उनको योजना स्थगित भयो । कात्तिकमा उनी राष्ट्रपति निर्वाचित भएर सीधै शीतल निवास आइन् । त्यसपछि यो घर प्रयोगविहीनजस्तै बनेको थियो ।

    अहिले भण्डारीको साढे २ तल्ले घरको अगाडिपट्टि सुरक्षाकर्मी बस्नका लागि पोस्ट बनिरहेको छ । घर पछाडि पनि उनीहरू सुत्नका लागि टहरो बनाइएको छ । फागुन २० भित्रै सबै काम सक्ने भनिए पनि अझै दुई साताभन्दा बढी लाग्न सक्ने बताइएको छ । यद्यपि, तत्कालै सुरक्षाकर्मी बस्नयोग्य बनाएर तत्काल त्यहीँ सर्ने कि भन्ने पनि छलफल भइरहेको स्रोतले बतायो ।

    ‘कामको गति हेर्दा अझै पनि १५ दिनदेखि एक महिनासम्म लाग्न सक्ने देखिन्छ । त्यतिञ्जेल देवरको घरमा बस्ने वा त्यहीँ सरेर कामलाई निरन्तरता दिने भन्ने विकल्पमा सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

     

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १३:३३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij