२०८२ मंसिर ५ गते शुक्रवार
यहीँ चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल बढिरहेको छ । प्रदेश र संघको निर्वाचन तथा सरकार गठन प्रक्रियाले गर्दा सुस्त बनेको संघ निर्वाचनमा अहिले व्यवसायीहरुको चहलपहल बढ्न थालेको हो ।
२५ गतेको राष्ट्रपति निर्वाचनपछि त झन् चुनावी वातावरणमा व्यवसायीहरुको सहभागी बढ्दै जान्छ ।
यसै क्रममा महासंघले उम्मेदवारहरुको मनोनयन शुःल्क पनि तय गरिसकेको छ । बरिष्ठ उपाध्यक्षको उम्मेदवारका लागि मनोनयन शुःल्क ५ लाख तोकिएको छ भने ३ उपाध्यक्षका लागि ३–३ लाख रुपैयाँ मनोनयन शुःल्क तोकिएको छ ।
केन्द्रीय सदस्यका उम्मेदवारका लागि ७५ हजार मनोनयन शुःल्क बुझाउनु पर्नेछ । महासंघमा बरिष्ठ उपाध्यक्षसहित जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्ष गरी ३ उपाध्यक्षमा चुनाव हुनेछ । ६ पदाधिकारी रहने महासंघमा कोषाध्यक्ष भने कार्यसमितिले मनोनयन गर्ने प्रावधान रहेको छ ।बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष पदमा नियुक्त हुने भएकाले अध्यक्षमा निर्वाचन हुँदैन ।
यी हुन् वरिष्ठ उपाध्यक्षका दाबेदारहरु
वरिष्ठ उपाध्यक्ष बन्नका लागि ४ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाइ बरिष्ठ उपाध्यक्ष लड्ने तयारीमा रहेका छन् ।
जिल्ला नगरको मतभार ५० प्रतिशत हुने भएकाले दिनेश श्रेष्ठले जिल्ला नगरबाट आफ्नो बहुमत आउने देखेका छन् । अञ्जन श्रेष्ठ वस्तुगतमा पकड भएका उम्मेदवार मानिन्छन् ।
अर्का दाबेदार रामचन्द्र सांघाई एसोसियटमा आफ्नो बल देखिरहेका छन् । मारवाडी समुदायबाट सञ्चालित कर्पोरेट हाउसको मत निर्विकल्प रुपमा आफूलाई आउने विश्वाससहित उनले पछाडि नफर्किने दावी गरिरहेका छन् ।
यद्यपी, वरिष्ठमा उम्मेदवार बन्ने चाहना गरिरहेका मध्ये उमेशलाल र अञ्जनले मात्रै टिम बनाउन सकेका छन् । उमेशलालको टिममा जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षका उम्मेदवार छन् ।
त्यस्तै, अञ्जनको टिममा पनि जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षका उम्मेदवार रहेका छन् । दिनेश श्रेष्ठसँग पनि टिम नै छ भने संघाइसँग कुनै टिम छैन । तर, जो जस्तो भए पनि महासंघको वरिष्ठ उपाध्यक्षका रुपमा देख्नका लागि भने चैत २८ गते नै कुर्नुपर्ने हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij