२०८२ मंसिर ५ गते शुक्रवार
नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सकिएको छ।
आज न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ भएको हो। सुनुवाइ सकिए पनि आदेश भने आइसकेको छैन ।
अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक ४ गते न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि सबै प्रक्रिया अहिले स्थागित भएको छ ।
बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो। बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो।
तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाइसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij