२०८२ भाद्र ३ गते मंगलवार
बेलकोटगढी नगर प्रमुख जगत बहादुर गुरुङले बेलकोटगढी नगरलाई शैक्षिक नगर बनाउनमा आफ्नो सम्पूर्ण प्रयत्न रहने बताएका छन् । पञ्चासे मा•वि•को ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले विद्यालयको भित्री परिसर ४८औं जन्मोत्सवसम्ममा धुलोविहीन हुने दाबी गरे । उनको कथन थियो- 'अध्यापनका निम्ति यहाँ शिक्षकहरूको कमी हुने छैन । जहाँसम्म शैक्षिक गुणस्तरको सवाल छ, यसमा भने विद्यालय परिवार नै लागिपर्नु पर्ने छ । यो नगर शिक्षक-मैत्री नगर बन्नुपर्नेमा म दृढ छु ।' विद्यालय व्यवस्थापन र प्रशासनलाई इङ्गित गर्दै उनले थपे- 'विभिन्न भौतिक पूर्वाधार अभावबीच पनि यो विद्यालयले जसरी आफ्ना शैक्षिक गतिविधि अघि बढाएको छ, यो सर्वथा सन्तोषजनक छ ।'
वार्षिकोत्सवलाई शुभकामना मन्तव्य दिने सिलसिलामा नगर उपप्रमुख शिवप्रसाद दाहालले आफूले नगर प्रमुखसँग भर्खरै पनि यो विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक उत्थानमा पर्याप्त ध्यान दिने सरसल्लाह गरेको अवगत गराउँदै पठनपाठनमा आउने हर समस्या निराकरण गर्न सहयोगीको भूमिका निर्वाह गर्ने वाचा गरे । वडा नम्बर ३ की वडाध्यक्ष कौशिला पुडासैनी, ४ का चन्द्रबहादुर लामा, विव्यस सदस्य सुरज लामाले पनि हरतरहले विद्यालयको उन्नयन तथा स्तरोन्नतिमा आआफ्नो भूमिकामा दत्तचित्त हुने प्रतिज्ञा गरे । समारोहलाई कामरूदेवी मा•वि•की प्रधानाध्यापक सावित्री अर्याल, सोही विद्यालयका विव्यस अध्यक्ष बच्चुराम लामिछाने, रूडेक नेपालका प्रतिनिधि हरिकृष्ण तामाङले पनि सम्बोधन गरेका थिए ।
विद्यालयकी प्रधानाध्यापिका रीता बानियाँले विद्यालयको समग्र गतिविधि,उपलब्धि तथा भावी कार्ययोजनाबारे मन्तव्य राख्दै एसईईमा अब्बल नतिजा हासिल गर्ने विद्यार्थी र विषय शिक्षकलाई क्रमशः पुरस्कृत गर्दै जाने खुलासा गरिन् भने लेखापाल हरिकृष्ण पौडेलले विद्यालयको वार्षिक आयव्ययको फेहरिस्त प्रस्तुत गरे । त्यसरी नै शिक्षक बुद्धिनाथ न्यौपानेले पुस्तकालय व्यवस्थापन र सञ्चालनबारे आफ्ना सटीक भनाइ प्रस्तुत गरे । कार्यक्रमको बीचबीचमा विद्यार्थीहरूले रोचक एवम् मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । सो कार्यक्रममा समाजसेवी राजन सुवेदीले विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ति २७५ थान नि:शुल्क झोला प्रदान गरेका थिए भने काठमाडौंमा कार्यरत शिक्षक, समीक्षक तथा कवि माधव घिमिरे 'अटल'ले उदीयमान नियात्राकार राजेन्द्रमान डङ्गोलकृत 'यात्राका पाइला' र 'पैतालामा हिउँ, आँखामा हिमाल' उन्मुक्त पुस्ताको 'आफर' र 'रोअरिङ फ्लेम्स', मोक्षदा अम्गाईको 'इभेरी एन्ड इन्टरनेट' लगायत करिब बीस हजार रूपैयाँ मूल्य बराबरको बिभिन्न पुस्तकहरू पुस्तकालयलाई हस्तान्तरण गरेका थिए । शिक्षक कुमार पौडेलले सहजीकरण गरेको सो कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा कार्यक्रमकी सभापति सीता भुजेलले बिट मारेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij