२०८२ माघ १५ गते बिहिवार
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ । त्यस विषयमा निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।
पछिल्लो राजनीतिक घटनाक्रमम र सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाइएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठकले सरकारबाट बाहिरिने निर्णय लिने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ । रास्वपा सभापति लामिछाने स्वयंले पनि त्यसको संकेत गरिसकेका छन् ।
'अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन,' रविले फेसबूकमा लेखेका छन् ।
मौनता आजसम्मका लागि मात्र भनेर रविले सरकारबाट बाहिरिने संकेत गरेको स्रोतको दाबी छ ।
आफूलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न दबाब दिँदै आएका लामिछाने तत्काल गृहमा फर्किन सम्भव नभएपछि सकारबाट बाहिने तयारीमा लागेका हुन् । सरकारमा रास्वपाले ३ मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij