२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । युवा संघमा चर्किएको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा समूहबीच टकराव बढ्न थालेको छ।
ओली पक्षको युवा संघको भेला आइतबार र सोमबार बसेको थियो। सो भेलाले वचनबहादुर सिंहको अध्यक्षतामा ३ सय ३५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो। जसको सहअध्यक्ष किरण पौडेल र महासचिव रमेश आचार्य चयन भएका छन्।
सो भेलालाई गृहमन्त्री थापा पक्षका युवाले भने बहिष्कार गरेका छन्। ओली पक्षले एकलौटी केन्द्रीय समिति चयन गरेपछि त्यसको असर पार्टीमा समेत देखिने भएको छ। ओली पक्षको एकलौटीप्रति थापा असन्तुष्ट रहेको उनीनिकट एक नेताले बताए।
‘बादल दाइ युवा संघको बैठक र त्यसको निर्णयप्रति असन्तुष्ट हुनुहुन्छ, उहाँले उदण्डता देखाइएको भन्दै करेक्सन गराउनुपर्छ भन्नुभएको छ,’ ती नेताले भने।
आफूनिकट सबै केन्द्रीय सदस्य छाडेर एक्लै ओली पक्षमा लागेका थापाको अहिले सबैभन्दा ठूलो शक्ति युवामै छ। यसैलाई प्रयोग गरेर उनी ओलीसँग बार्गेनिङ गर्न चाहन्छन्।
सोही कारण उनले राष्ट्रिय युवा संघमा रहेकाहरुलाई समेटेर वाईसीएल ब्युँताएका छन्। तिनै युवाहरु केन्द्रीय समितिको बैठकमा सहभागी नभएका हुन्।
सोमबार एकलौटी रुपमा युवा संघको घोषणा गरिएपछि थापामात्र होइन, ओली पक्षको जनवर्गीय संगठन हेर्ने इन्चार्ज टोपबहादुर रायमाझी समेत असन्तुष्ट बनेका छन्। सोमबार थापा निकट युवासँगको भेटमा रायमाझीले हिजो गरिएको निर्णयप्रति असन्तुष्टि जनाए।
‘बैठक बहिष्कार गरेर हामी हिजै टोपबहादुर दाइलाई भेट्न गएका थियौं,’ वाईसीएलका ती युवाले भने, ‘भेटमा उहाँले मसँग समेत परामर्श नगरी अवैधानिक ढंगले गरिएको यो अराजक एकलौटी निर्णय मान्ने कुरा हुँदैन। म फ्याक्सन इन्चार्ज, मैले नभनी कसरी हुन्छ भन्नुभयो।’
थापा पक्ष कमजोर भएकाले पेल्न खोजिएको उनीहरुको बुझाइ छ। ‘ओलीसँग एक्लै आउनुभएको बादलसँग कोही पनि छैनन् भन्ने उहाँहरुलाई परेको रहेछ, त्यही भएर पेलेका हुन् तर अब यो पेलाइ मान्दैनौं,’ ती युवा नेता भन्छन्।
ओली पक्षसँग कुरा नमिले वीरु तामाङको नेतृत्वमा रहेको वाईसीएललाई युवा संघको समानान्तर कमिटी बनाइने तयारी थापा पक्षले गरेको छ।
ती युवा नेता भन्छन्, ‘युवामा पूर्व माओवादी पक्षलाई पुरै निषेध गरिएको छ, कुरा मिलेन भने वाईसीएल समानान्तर रुपमा जानसक्छ र युवा संघ विभाजित हुन्छ।’
थापा पक्षले बैठक बहिष्कार गरेपछि समस्या समाधान गराउन नेताहरुले पहल थालेका छन्। ‘युवा संघमा देखिएको विवाद समाधान गर्न उच्च तह र अन्य नेताहरुबीच छलफल गर्ने प्रयासमा नेताहरु हुनुहुन्छ,’ युवा संघको सचिवालयका एक सदस्यले भने।
संवादको तयारी भइरहेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले पनि बताए।
‘युवा संघको भेलामा टोपबहादुर पनि जानुभएन, अब समस्या समाधान गर्न गृहमन्त्री र प्रधानमन्त्रीबीच एकपटक छलफल हुनसक्छ,’ उनले भने, ‘नेताहरु नै बसेर छलफल गरी समस्या समाधान गर्नुपर्छ भन्ने पार्टीका नेताहरुमा परेको रहेछ।’
तर, छलफल कहिले गर्ने भन्ने टुंगो लागेको छैन। थापाले ओली समूहमा पहिले नेकपा एकीकृत हुँदा प्रचण्डकै जस्तो हैसियत खोजिरहेका छन्। युवा संघमा पनि उनले ४० प्रतिशत पाउनुपर्ने माग गरेका थिए।
‘प्रचण्डले पाएको जति संख्या हामीले पाउनुपर्छ, नत्र त कसरी एकता हुन्छ ररु एउटै समूहमा रहेपनि त्यहाँ पूर्व माओवादी पक्षको नेतृत्व बादल दाइले गर्नुभएको छ,’ ती युवा नेताले भने, ‘हामीलाई हरेक निकायमा कम्तीमा चालीस प्रतिशत चाहिन्छ।’
भूमि समस्या समाधान आयोगमा पनि थापालाई निषेध
सरकारले हालै भूमि समस्या समाधान आयोगमा सदस्य नियुक्त गर्दा पनि थापा समूहलाई निषेध गरिएको थापाको सचिवालय स्रोतले जनायो।
‘हामीले ७७ वटै जिल्लामा मिलेसम्म अध्यक्ष र नत्र विज्ञ वा सदस्यमा नियुक्त गर्न नाम पठाएका थियौँ तर, बादल दाइ पक्षको नाम नै परेको छैन, पुरै निषेध गरिएको छ,’ स्रोतले भन्यो। तर, थापाका प्रेस संयोजक भट्टराईले पुरै निषेध नगरिएको बताए।
‘पुरै निषेध गरिएको त देखिँदैन। ललितपुर, रुपन्देही र बारा लगायत केही जिम्लामा राखिएका छन्,’ भट्टराईले भने, ‘तर, मागेजति नदिएको देखिन्छ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij