२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । भारतको मध्यप्रदेशस्थित गुनामा एक २१ वर्षीय युवकले आफ्नी बहिनीलाई दुर्व्यवहार गर्ने एक युवकको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
घटनाको सबैभन्दा आश्चर्यजनक पक्ष के छ भने हत्यामा प्रयोग गरिएको चक्कु त्यही थियो, जसले केही दिनअघि आरोपीकी बहिनीले आफ्नो जन्मदिनको केक काटेकी थिइन् ।
प्रहरी अनुसन्धानका अनुसार मृतक अनिलले आरोपी अभिषेक टिङ्गाकी बहिनीसँग लगातार सम्पर्क गरी उनलाई दबाब दिइरहेका थिए । उनले युवतीलाई बिहे गर्न आग्रह गर्दै सुनचाँदीका गहना दिने प्रलोभन देखाएका थिए ।
पीडित युवतीले दाइ अभिषेकलाई सबै कुरा बताएपछि उनी आक्रोशित भएका थिए । त्यसपछि अभिषेकले आफ्ना साथीहरूसँग मिलेर अनिलको हत्या गर्ने योजना बनाए । प्रहरीका अनुसार अभिषेक र उनका साथीहरूले हत्याको योजना बनाउन अनलाइनबाट पाँच वटा चक्कु मगाए र कैयौं दिनदेखि अनिलका गतिविधिमाथि निगरानी गरिरहेका थिए ।
शुक्रबार अनिल रक्सी पिइरहेको सूचना पाएपछि अभिषेक र उनका साथीहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अनिललाई घेरा हालेर जन्मदिनको केक काटेको त्यही चक्कुले आक्रमण गरे । घटनापछि सबै आरोपी फरार भएका छन् ।
गुनाका प्रहरी अधिक्षक अंकित सोनीले बहिनीको जन्मदिन मनाइएको चक्कुले नै हत्या गरिएको पुष्टि गरेका छन् । उनले घटनाबारे अनुसन्धान जारी रहेको र फरार आरोपीहरूको खोजी भइरहेको जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij