२०८२ भाद्र ३ गते मंगलवार
त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने निर्णय गरेको छ । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले शुक्रबार साँझ बसेको कार्यकारीको बैठकले निर्वाचन गर्ने निर्णय गरेको बताए । उनले भने– ‘विद्यार्थी कल्याण परिषद्ले बिहीबार गरेको सिफारिसका आधारमा मिति घोषणा गरेका हौं ।’
कार्यकारी परिषद्ले २८ वर्ष उमेर हद तोकेर मिश्रित निर्वाचन प्रणाली लागु गर्ने गर्नेगरी मिति घोषणा गरेको छ । मिश्रित प्रणालीअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उप सभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने गरी निर्वाचन हुनेछ ।
त्रिविको सबै नीतिगत र कानुनी निर्णय कार्यकारी परिषद्ले गर्नुपर्ने व्यवस्था छ । कार्यकारी परिषद्मा उपकुलपति, रेक्टर, रजिस्ट्रार, दुईवटा संकायका डीन र दुईजना प्राध्यापक रहने व्यवस्था छ ।
परिषद्ले गरेको निर्णय सार्वजनिक भएलगत्तै रेक्टरको अध्यक्षतामा त्रिवि केन्द्रीय निर्वाचन अनुगमन कमिटी गठन हुनेछ । सोही समितिले देशैभरका क्याम्पसमा निर्वाचन कमिटी गठन गर्न निर्देशन दिनेछ ।
केन्द्रीय निर्वाचन समितिले कार्यकारी परिषद्को निर्णयको आधारमा कार्यविधि निर्माण गर्नेछ । सोही कार्यविधिको आधारमा निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ ।
विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीले कार्यकारी परिषद्को निर्णय प्राप्त हुनासाथ भर्ना गर्ने समय, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने मितिलगायतको सबै विषयमा क्याम्पसलाई निर्देशन दिने बताए ।
उहाँका अनुसार मिति तय भएलगत्तै मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, उम्मेदवारको नाम फिर्ता, दाबी, विरोध र निर्वाचन कार्यक्रम घोषणा हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij