Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज पुसे औंसी: बिहानैदेखि गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भीड

आज पुसे औंसी: बिहानैदेखि गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भीड


  • 2.9K
    Shares

    आज पुसे औंसी: बिहानैदेखि गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भीड
    images

    प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न शुक्रबार बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ।

    प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट गोकर्णेश्वर उत्तरगया धाम क्षेत्रमा  भक्तजन आएका छन्। बिहान छ बजेदेखि नै भक्तजन गोकर्णेश्वर क्षेत्रमा पितृका नाममा श्राद्ध गर्न आउन थालेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।

    मन्दिर क्षेत्रमा पितृका नाममा श्राद्ध, तर्पण एवं सिदादान गर्न आउने भक्तजनका लागि समितिले विशेष व्यवस्था गरेको जनाइएको छ। भक्तजनको भीडका कारण अहिले जोरपाटीबाट माथि जाने सडक जाम भएको छ। दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने परम्परा छ।  

    सौरमास अनुसार माघे संक्रान्तिदेखि र चान्द्रमास अनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ। उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ।

    यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती लगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ। गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ।

    दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो। दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो। तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीष्ठका पूर्व सहप्राध्यापक श्रीराम सापकोटा बताउँछन्।

    'महालय परपक्ष र पितृ पक्षसमेत भनिने सोह्र श्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघर तिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ', उनले भने। 

    श्राद्ध भनेको श्रद्धा हो। शास्त्र अनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन। महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिएपनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन। यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तोमात्र भई विधि नपुग्ने गरेको धर्मशास्त्रविद्को तर्क छ। रासस 

    प्रकाशित मिति :पौष ८ २०७९ शुक्रवार - १४:५३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij