२०८२ माघ १६ गते शुक्रवार
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
संस्थापन इतर समूहले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै सभापति देउवासँगको भिडन्त पक्का भएको हो ।
संस्थापन पक्षबाट सभापति देउवा दलको नेताका लागि सर्वसम्मत उम्मेदवार हुन् । संसदीय दलको नेताका लागि आकांक्षा राखेका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला पछि हटेपछि संस्थापन पक्षबाट देउवा सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको सात दिनको समय आइतबार सकिँदैछ । कांग्रेसको विधानमा प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्ने व्यवस्था छ । त्यही अनुसार कांग्रेसले संसदीय दलको नेता छान्न निर्वाचन प्रक्रिया अघि बढाएको हो । आज उम्मेदवारी दर्ता भएपछि भोलि बिहान ८ बजेदेखि १० बजेसम्म चुनाव हुनेछ ।
संसदीय दलभित्रको अंकगणितमा भने देउवा बलियो स्थितिमा छन् । संस्थापन इतर समूहबाट दलको नेताको उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ । संसदीय दलमा संस्थापन समूह अर्थात् देउवाको वर्चस्व छ । त्यसैले पनि संस्थापन इतर समूहका थापालाई दलको नेता बन्न गाह्रो हुने अंकगणितले देखाउँछ । देउवालाई दलको नेता बन्नबाट रोक्न संस्थापन इतर समूहसँग बहुमत पुग्दैन । संसदीय दलमा सभापति देउवासँग ५९ सांसद छन् । संस्थापन इतर अर्थात् शेखर कोइराला समूहमा (महामन्त्री विश्वप्रकाश शर्मासहित) ३० सांसद छन् ।
त्यसैले महामन्त्री थापालाई संसदीय दलको नेता बन्न संस्थापन समूहका सांसदको साथ आवश्यक पर्छ । बहुमत सांसद आफूसँगै रहेकाले दलको नेतामा कसैले चुनौती दिन नसक्नेमा देउवा ढुक्क छन् । देउवाले संस्थापन इतर समूहकै कतिपय सांसदलाई मन्त्री बनाइदिने लोभ पनि देखाइसकेका छन् ।
कुन सांसद कुन समूहमा छन् ?
संस्थापन पक्ष
शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदय शमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, विनोदकुमार चौधरी, दीपक खड्का, विष्णुकुमार कार्की,राजेन्द्र केसी (राजन), ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, प्रदीप पौडेल, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, सन्तोष चालिसे, राजु थापा, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, मैना रावल, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा र अञ्जनी श्रेष्ठ ।
शेखर कोइराला पक्ष
डा. शेखर कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डे, दीपक गिरी, राजेन्द्र बजगाईं, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, सुरेन्द्रराज आचार्य, योगेश गौचन थकाली, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनिल कुमार शर्मा, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी र कुसुम थापा ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij