Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बागमतीको मुख्यमन्त्री बन्न बानियाँ र लामाबीच कडा प्रतिस्पर्धा, कसको सम्भावना कति ?

बागमतीको मुख्यमन्त्री बन्न बानियाँ र लामाबीच कडा प्रतिस्पर्धा, कसको सम्भावना कति ?


  • 1.9K
    Shares

    बागमतीको मुख्यमन्त्री बन्न बानियाँ र लामाबीच कडा प्रतिस्पर्धा, कसको सम्भावना कति ?

    निर्वाचन सम्पन्न भएसँगै बागमती प्रदेशमा सरकार निर्माणको जोडघटाउ सुरु भएको छ । सरकार निर्माणको लागि दलहरु जोडघटाउमा व्यस्त हुँदै गर्दा प्रदेशसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई भने आन्तरिक व्यवस्थापन नै चुनौती हुने देखिएको छ ।

    पार्टीभित्र दुई खेमा रहेको कांग्रेसमा संस्थापन समूहभित्रै दुई टीम देखिएको छ। दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचनमा पार्टी जुट्दै गरेको अवस्थामा कांग्रेस संस्थापन पक्ष विभाजित बनेको हो । दलको नेता बन्ने होडमा मकवानपुरबाट निर्वाचित इन्द्रबहादु्र बानियाँ र नुवाकोटबाट निर्वाचित बहादुर सिंह लामा प्रतिस्पर्धामा उत्रिने देखिएको छ । दुवै जना कांग्रेसको संस्थापन पक्षका नेता हुन् ।

    केन्द्रीय सदस्यसमेत रहेका लामा प्रदेशसभा सदस्य निर्वाचित भएलगत्तै दलको नेता बन्ने कसरतमा जुटेका हुन् भने कांग्रेस बागमती प्रदेशको सभापति बानियाँले यसअघि पनि सरकारको नेतृत्वमा दावी गर्दै आएका थिए । उनी प्रदेशसभाको पहिलो कार्यकालमा दलको नेताको जिम्मेवारीमा रहिसकेका छन् । संसदीय दलको नेता बन्न उनीहरु आन्तरिक लबिङमा जुटिरहेका छन् ।

    लामा प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार थिए । पार्टीको आन्तरिक समस्या सुल्झाउन उनलाई प्रदेशसभामा झारिएको थियो । उनी मंसिर ४ को निर्वाचनमा प्रदेशसभा तर्फ नुवाकोट २ (ख)बाट निर्वाचित भएका थिए । निर्वाचित भए लगत्तै उनी पनि मुख्यमन्त्री बन्ने आकांक्षा व्यक्त गर्दै दलको नेता बन्न प्रयासरत रहेका हुन् ।

    २०७४ मा नै दलको नेता भइसकेका बानियाँ यो पटक त्यत्तिकै मुख्यमन्त्री छाड्न तयार देखिँदैनन् ।

    बहादुर र इन्द्रको प्रतिस्पर्धा, कसको सम्भावना कति ?

    मुख्यमन्त्रीमा संस्थापनबाटै २ जनाको दावी परेपछि कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य समेत विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये कांग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ १२ सिट रहेको छ ।

    कांग्रेसको ३७ सदस्यीय संसदीय दलमा कांग्रेसको संस्थापन पक्षको बहुमत देखिन्छ भने संस्थापन इतर पक्षका सांसद कम रहेका छन् । संस्थापन पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह निकट सांसदहरु रहेका छन् ।

    बागमती प्रदेशसभा सदस्यहरुमा कांग्रेस नेता शेखर कोइराला पक्षका कोही देखिँदैनन् । यद्यपी शेखर टिमका कांग्रेस महामन्त्री गगन थापा निकटका केही सांसद्हरु रहेका छन् । प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी शेखर–गगन पक्षमा थोरै मात्र सांसद रहेका छन् । संस्थापन पक्षमा नै दुई धार देखिँदा इतर टीमले निर्णायक भूमिका खेल्ने देखिन्छ ।

    संस्थापन पक्षबाटै दुई जना संसदीय दलको नेताको दौडमा रहेपछि बागमतीमा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

    प्रकाशित मिति :मंसिर २७ २०७९ मंगलवार - १६:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij