२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा ऐनले उच्च मावि तह (१२ कक्षा) सम्मको विद्यालयमा ७, माध्यमिक तह (कक्षा १०) मा ५ र निमाविमा तह (१–८) सम्म न्यूनतम ४ शिक्षक दरबन्दीको व्यवस्था गरेको छ ।
त्यस्तै प्राविमा १–५ कक्षा भएकोमा ३ जना र १–३ सञ्चालन भएकोमा २ जना न्यूनतम शिक्षक हुनुपर्ने व्यवस्था छ । तर, कतिपय विद्यालयमा न्यूनतम दरबन्दी छैन । दरबन्दी भएकामा पनि शिक्षक नहुँदा सरकारी विद्यालयको पठनपाठन प्रभावकारी हुन सकेको छैन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको राजाजी आधारभूत विद्यालय (१–८) मा जम्मा दुई शिक्षक छन् । दरबन्दी भने ४ जनाको छ । दुई शिक्षक गत असारमा अवकाश भएपछि हाल दुई जना मात्रै रहेको प्रधानाध्यापक देवनारायण पण्डितले बताए ।
दुई जनामध्ये राजकिशोर प्रसाद सिंह आगामी मंसिरमा अनिवार्य अवकाश हुँदैछन् । प्रधानाध्यापक पण्डित भन्छन्, ‘अहिले हामी दुई जना छौं । मंसिरपछि म मात्रै रहन्छु । अहिले स्वयंसेवक शिक्षकहरु भएपनि विषय शिक्षक हुनुहुन्न । त्यसैले मैले गणित र विज्ञान विषयको शिक्षक माग गरेको छु ।’
वडा कार्यालयले व्यवस्था गरेको ४ जना स्वयंसेवक शिक्षकबाट विषय शिक्षण नहुने उनले बताए । स्वयंसेवक शिक्षकबाट तल्ला कक्षालाई बहुशिक्षण सिकाइ र पाँच कक्षा माथिकालाई आफूसहित दुईजनाले पढाइरहेको प्रधानाध्यापक पण्डितले बताए ।
‘हाम्रो विद्यालयमा ३६७ विद्यार्थी छन्’, उनी भन्छन् ‘यही अवस्था रहे पढाइ बिग्रिने हुनाले शिक्षकको व्यवस्था गरिदिन पालिकामा अनुरोध गरिरहेका छौं, तर निर्वाचन आचारसंहिताका कारण तत्काल नहुने भयो ।’
४ शिक्षकको दरबन्दी भएको तिलाठी कोइलाडीकै राष्ट्रिय आधारभूत विद्यालयमा पनि दुई जना मात्र शिक्षक छन् । शिक्षक अभावका कारण बहुशिक्षण सिकाइ गरिरहेको प्रअ प्रविण कर्णले बताए ।
‘शिक्षक नहुँदा पढाउन समस्या हुने नै भयो’, उनले भने, ‘गाउँपालिकाले शिक्षक व्यवस्थापन कार्यविधि बनाइरहेको भनेको छ । चुनावपछि होला भन्ने आशा छ ।’ सामुदायिक विद्यालयहरुमा तोकिएको दरबन्दीको शिक्षक नहुँदा शैक्षिक गुणस्तर नसुध्रिने अवस्था देखिन्छ । गाउँपालिकाको शिक्षा विभाग प्रमुख राजेशकुमार झा पालिकाका १७ विद्यालयमध्ये आधारभूत तहमा शिक्षक अभाव रहेको बताउँछन् । गत असारमा अनिवार्य अवकाश भएकाको स्थानमा करार नियुक्त वा दरबन्दी मिलान गर्ने भन्ने विषयमा छलफल गरिरहेको उनले बताए ।
महोत्तरीको मनरा सिसवा नगरपालिका–१० को हनुमानदत्त विश्वनाथ जनता आधारभूत विद्यालयमा पनि उही समस्या छ । ३ दरबन्दी रहेपनि शिक्षक १ जनामात्र छन् । गत असारसम्म दुईजना थिए ।
विद्यालय व्यवस्थापन समिति पनि नभएकाले त्यहाँ शिक्षक सरुवा गर्न वा करारमा राख्न नमिलेको नगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक रोमन निरौला बताउँछन् ।
मनरा सिसवा नगरपालिकाकै सहदेव सहनी आधारभूत विद्यालयमा प्रधानाध्यापक मात्र छन् । कक्षा ४ सम्मको यो विद्यालयमा भने दरबन्दी नै एउटा मात्र छ । निरीक्षक निरौला भन्छन्, ‘शिक्षा विभागबाट नगरपालिकाको मातहतमा आउँदा नै एउटै दरबन्दी थियो । तर एकै जना शिक्षक हुँदा पठनपाठनमा समस्या हुने देखिएपछि दुई दिनअघि मात्र एक जना शिक्षकको व्यवस्था नगरपालिकाले मिलाएको छ ।’
एक जना मात्रै शिक्षक हुँदा ती शिक्षक बिरामी अथवा तालिम, प्रशासनिक कामको लागि कतै जानुपर्दा समस्या हुने गुनासो आएपछि व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
ऐनले तोकेको न्यूनतम शिक्षक संख्याभन्दा बढी दरबन्दी दिन विद्यार्थी–शिक्षक अनुपात मिल्नुपर्छ । जस्तो– न्यूनतम दरबन्दी ४ भएको विद्यालयले पाँचौं शिक्षक माग गरेमा विद्यार्थी संख्या २५० हुनैपर्छ । निमाविमा १५० विद्यार्थी भएपनि विषययगत शिक्षक चाहिने भएकाले ४ दरबन्दी हुन्छ ।
थप दरबन्दीको लागि विद्यार्थी शिक्षकको अनुपात पुग्नुपर्ने हुन्छ । शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij