Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

संघीय शिक्षा ऐनको मस्यौदा यो अधिवेशनमा पास हुने सम्भावना टर्यो

संघीय शिक्षा ऐनको मस्यौदा यो अधिवेशनमा पास हुने सम्भावना टर्यो


  • 7.2K
    Shares

    संघीय शिक्षा ऐनको मस्यौदा यो अधिवेशनमा पास हुने सम्भावना टर्यो

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेका बेला संसद् विघटन हुने भएपछि यो सरकारले शिक्षा ऐन ल्याउने सम्भावना टरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्री परिषद्मा पेस गरेको संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री परिषद्को विधायन समितिमा पुगेको छ ।

    विधायन समितिले अध्ययन गरी पारित गरेपछि सो विधेयक राष्ट्रिय सभामा लैजाने तयारी छ । तर उक्त विधेयक राष्ट्रिय सभामा लगेर मात्रै पारित हुने अवस्था छैन । प्रतिनिधि र राष्ट्रिय सभा दुवैले पारित गरेपछि राष्ट्रपति समक्ष पेस गरी राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल ऐन जारी हुने कानुनी व्यवस्था छ ।

    अन्य विधेयक दुईमध्ये जुन सदनमा पेस गरे पनि हुने व्यवस्था भए तापनि आर्थिक विधेयक भने अनिवार्य रुपमा प्रतिनिधि सभामा पेस गर्नुपर्ने व्यवस्था छ । त्यसैले प्रतिनिधिसभा विघटन भएपछि विधेयक शुरुमा राष्ट्रिय सभाबाट पारित गर्ने र त्यसपछि नयाँ प्रतिनिधिसभाको बैठकमा पेस गर्दा कुनै समस्या हुँदैन । यसअघि योगमाया आयुर्वेद विश्वविद्यालयको ऐनको मस्यौदा पनि राष्ट्रिय सभामा पेस गरी प्रतिनिधि सभाबाट पारित भएको थियो ।

    मन्त्रिपरिषद्को विधायन समितिमा पुगेको मस्यौदामा हाल कायम रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको नाम शिक्षा विभाग कायम गर्ने, जिल्ला शिक्षा समन्वय इकाइको नाम साविकको जिल्ला शिक्षा कार्यालय कायम गर्ने उल्लेख छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोग कायम राख्ने उल्लेख छ । ऐनको मस्यौदामा शिक्षामा केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार वर्गीकरण गरिएको छ ।

    ऐनमा कक्षा ८ को परीक्षा स्थानीय, १० को प्रदेश र १२ को बोर्डले लिने उल्लेख छ । शिक्षा मन्त्रालयका उच्च अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शिक्षा सचिव रहने व्यवस्था गर्न मन्त्री पौडेललाई सुझाव दिए तापनि मन्त्री पौडेलले बोर्डको संरचना परिवर्तन गर्न नहुने निर्णय गर्नुभएको थियो । त्यस्तै २०७५ सालका जारी भएको निःशुल्क र अनिवार्य शिक्षा ऐनलाई संघीय ऐनमै सामेल गर्न दिइएको सुझावविपरीत मन्त्री पौडेलले संघीय शिक्षा ऐनलाई छुट्टै बनाउने बताउनुभएको थियो ।

    मन्त्री पौडेलले चालू अधिवेशनमा विधेयक पारित गरेर आफ्नै कार्यकालमा संघीय शिक्षा ऐन ल्याउने पूर्ण तयारी गर्नुभएको थियो । उहाँले कानुन मन्त्रालयबाट ल्याइएको विधेयक केही सीमित कर्मचारीसँग छलफल गरेर हतारमा मन्त्रिपरिषद् बैठकमा लैजानुभएको थियो । तर, वर्तमान संसद् विघटन हुने भएपछि उहाँको योजना अधुरै रहने भएको छ ।

    यसअघिका शिक्षामन्त्रीहरूले पनि ५१ वर्ष पुरानो शिक्षा ऐन–२०२८ परिवर्तन गरी संघीय शिक्षा ऐन ल्याउन अन्तिम समयसम्म पनि लागिपरेका थिए । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र गिरिराजमणि पोखरेलले ऐन ल्याउन हरसम्भव प्रयास गर्नुभएको थियो । पोखरेलको कार्यकालमा संघीय शिक्षा ऐनको मस्यौदा तयार भएको थियो । उहाँले शिक्षक महासंघ, कर्मचारी, निजी विद्यालय, विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, शिक्षक सेवा आयोगसँग छलफल गरेर मस्यौदा तयार पार्नुभएको थियो ।

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १०:३६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij