२०८२ भाद्र १ गते आइतवार
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानरगपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धी थिए, सुमन सायमी। उनले १३ हजार ७ सय ७० मत प्राप्त गरेका थिए।
आफू पराजित भएपनि स्वतन्त्रबाटै निर्वाचित भएका प्रमुख बालेन्द्र शाहको विजय जुलुसका क्रममा सायमी अग्रभागमा देखिएका थिए। त्यसयता आवश्यक पर्दा अहिलेपनि मेयर बालेन्द्रसँग सरसल्लाह हुने गरेको सायमी बताउँछन्।
देशभर आम निर्वाचनको माहोल बढिरहँदा सायमी पनि ‘लौरो अभियान’ नै घोषणा गरेर तयारीमा जुटेका छन्। गत बिहीबार १६ (भदौ) मा ललितपुरको सानेपामा एक कार्यक्रम आयोजना गर्दै सायमीको संयोजगत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दै सायमी लगायत अन्य १० जनाले उम्मेदवारी घोषणा गरेका छन्।
आम निर्वाचनमा स्वतन्त्र अभियानको लौरो अभियान, उम्मेदवारी संख्या र निर्वाचनपछिको परिणामका विविध पक्षमा रहेर नेपालखबरले सायमीसँग भिडिओ कुराकानी गरेको छ।
कुराकानीका क्रममा सायमीले ‘काठमाडौंको हकमा ५० प्रतिशत नै ल्याउन सक्ने’ आंकलन गरेका छन्। साथै, नेता बन्नका लागि निर्वाचन नै लड्नपर्ने अन्यथा अभियान्ता मात्रै होइने अनुभव आफूसँग रहेको उनले बताएका छन्।
‘अहिले हामी युवाहरुलाई नेता बनाउन खोज्दैछौं। जब निर्वाचनमा उठिँदैन उ लिडर बन्दैन। त्यसको महसुस मैले गरेको छु। अभियानमात्र चलाएर नेता हुँदैन रहेछ,’ सायमीले भने, ‘अभियान्ता मात्र होइने रहेछ। जब चुनावमा जनताले भोट राख्छन त्यो बेलामा लिडर बनिने रहेछ। सबै युवालाई लिडर बनाउनैपर्छ भन्ने कुरामा म पुगेको छु।’
प्रस्तुत छ सायमीसँग गरिएको कुराकानीको सम्पादीत अंशः
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ तपाईंको नेतृतवमा घोषणा भयो। तर हाम्रो नेपाल पार्टीको नाममा निर्वाचन आयोगमा त्यो चिन्ह दर्ता छ। कसरी ‘लौरो’ चिन्ह पाउनुहुन्छ?
यो कागजी ढड्डा हो। यसको केही प्रक्रिया भएको छैन। फ्रेस नै छ। यसमा हामीले विचार कस्तो बनाउने भन्ने पनि हामीले नै तय गर्ने अवस्था छ।
कागजी दर्ता भनेको चाहीँ के हो?
मतलब यही लौरोलाई सेफ गर्नका २१ जनाले खर्ता गरेर राखेको दल मात्र हो। यो किन चाहियो भने जुन किसिमको राजनीतिक फोहोरि खेल भइरहेको छ, हामी सामुहिक स्वार्थ लिएर यो किन गर्न नहुने भनेर हामी लागेका हौं। किनभने, राजनीतिमा देश नै बेच्नका लागि त एउटा दल तयार हुन्छ भने हामी युवाहरुलाई एकीकृत गर्नका लागि यो चिन्ह लिनैपर्ने आवश्यक्ता छ। भविष्यमा सबैको विचार मिल्दै गयो भने दलको विकल्प दल नै हो। किनभने दल चलाउनपर्ने अवस्था पनि छ। विचार एकै भयो भने सबै जनतालई एकै ठाउँमा राख्न सक्छौं। हामी दीर्घकालिन योजनामा संगठन बनाएरै लाने सोच छ।
स्वतन्त्रको संरचना जुन बन्दैछ त्यसले केन्द्रीय सत्ता चलाउन सक्दैन त्यसकारण हामी पहिला चुनाव जित्छौं अनि दलमा परिणत हुन्छौं भन्नुभएको हो?
पहिला अरुले दल खोल्थ्यो, मुद्धा लिन्थ्यो र संगठन विस्तार गथ्र्यो। अहिले हामीले मुद्धा लिएर गइरहेका छौं, त्यो मुद्धाले युवालाइ संगठित गरेर दलमा परिणत गर्दा वैकल्पिक शक्ति निर्माण हुन्छ। अहिले धेरै दल छन् तर त्यतिकै बसिरहेका छन्। हामी जनताका विश्वासिला पात्रले दल खोल्दा जनतामा विश्वास आफैं बन्छ।
अहिले हामी युवाहरुलाई नेता बनाउन खोज्दैछौं। जब निर्वाचनमा उठिँदैन उ लिडर बन्दैन। त्यसको महसुस मैले गरेको छु। अभियानमात्र चलाएर नेता हुँदैन रहेछ। अभियान्ता मात्र होइने रहेछ। जब चुनावमा जनताले भोट राख्छन त्यो बेलामा लिडर बनिने रहेछ। सबै युवालाई लिडर बनाउनैपर्छ भन्ने कुरामा म पुगेको छु।
स्वतन्त्रको सञ्जाललाई बाँध्ने कुरा चाँही के हो?
यसमा चेन अफ कमाण्डको कुरा हुन्छ। सबैभन्दा पहिला त उद्धेश्य एउटा हुनुपर्यो। परिवर्तनका लागि पनि यो पटक स्वतन्त्र जिताउनपर्छ भनेर जनमानसमा छ। अहिलेको विकल्प नै युवाहरु हुन्। चेन अफ कमाण्ड मुद्धामा केन्द्रीत हुन्छ। सामुहिकतामा गयो भने मात्र हामी भिन्न र सफल हुन सक्छौं।
यो निर्वाचनमा तपाईंहरुको कति जति उम्मेदवार हुन्छ?
लगभग ११ सय जतिले त नाम नै पठाइसक्नुभएको छ। त्यसलाई क्राइटएरिया बनाएर उत्कृष्ठलाई हामी उम्मेदवार बनाउँछौं। सक्षम, शिक्षित र समाजलाई योगदान गरेकालाई हामी उम्मेदवार छान्छौं।
काठमाडौंका मेयर बालेन्द्र शाह निर्वाचित भएपछि केही छलफल भएको छ?
मेरो र उहाँको उद्धेश्य एउटै भएको कारणले मैले समर्थन गरेको हुँ। उहाँले पनि सम्मान गर्नुभयो। विजय र्यालीमा पनि एकैठाउँमा गएको त्यही भएर हो। हामी मिलेर काम पनि गर्न सक्छौं। राम्रो कामका लागि उहाँलाई सल्लाह सु्झाव दिनेगर्छौं। अहिले पनि राम्रै सम्बन्ध छ।
अब आउने चुनावमा उहाँसँग केही सम्बन्ध हुन्छ?
अब आउने चुनावमा उहाँले जे चेन्ज खोज्नुभएको हो, त्यो हामीले गर्न लागेका छौं। पक्कैपनि उहाँले समर्थन गर्नुहुन्छ। तपाईं नै अघि बढ्नपर्छ भनेर पहिल्यैदेखि नै भन्नुभएको हो। (नेपालखबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij