२०८२ भाद्र ४ गते बुधवार
नागार्जुन साहित्यिक प्रतिष्ठानले लामो समयदेखि स्थगित रहेको शुप्रभात काव्यगोष्ठीलाई निरन्तरता दिँदै अब उप्रान्त नियमित गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिष्ठानका अध्यक्ष दिल पौडेल र महासचिव युवराज नास्तिकका अनुसार हरेक महिनाको तेस्रो शनिवार प्रभातीय समयमा शुप्रभात गोष्ठी सञ्चालन हुनेछ यसले नवोदित स्रष्टालाई परिष्कारको अवसर दिनेछ भने स्थापित स्रष्टालाई मञ्च पनि प्रदान गर्नेछ ।
कार्यक्रममा कवि भरत शर्माले 'मेँ और मेरी' शीर्षकीय रचना वाचन गरी शुभारम्भ गरेका थिए भने दीनविनोद खड्काले 'हजुर क्या ग्ल्यामरस होइसिन्छ', सुशीला शर्माले 'युद्ध', गङ्गा खतिवडाले 'नौटङ्की', सुजिता अविरलले गजल, माधव घिमिरे 'अटल'ले 'पृथक परिदृश्य', प्रकाश सिलवालले 'जिउँदा अपेक्षा', युवराज नास्तिकले 'जब सत्ता नाङ्गै हुन्छ', दिल पौडेलले हाइकु र विनोद मन्जनले 'हिउँको टोपी' वाचन गरे ।
वाचित रचनालाई खरो समालोचकको परिचय बनाएका वरिष्ठ साहित्यकार डा• विनोद मन्जनले सिर्जनशील एवं सटीक टिप्पणी गरेका थिए । संस्थाको सल्लाहकारका हैसियतले उनले संस्थालाई कसरी सिर्जनाको समीचीन सदन बनाउन सकिन्छ भन्नेबारे पनि आफ्नो सारगर्भित कथन राखे ।
निवर्तमान अध्यक्ष प्रकाश सिलवालले संस्थाका विगतका ऊहापोह र आगामी भूमिकाबारे सङ्क्षिप्तमा चर्चा गरे । कार्यक्रमको सहजीकरण महासचिव युवराज नास्तिकले गरेका थिए भने अध्यक्षता संस्थाकै अध्यक्ष दिल पौडेलले गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij