Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पत्रकारितासँगै अनुसन्धानमुलक बालसाहित्यमा उत्तिकै सक्रिय नेत्र तामाङ

पत्रकारितासँगै अनुसन्धानमुलक बालसाहित्यमा उत्तिकै सक्रिय नेत्र तामाङ


  • 12.3K
    Shares

    पत्रकारितासँगै अनुसन्धानमुलक बालसाहित्यमा उत्तिकै सक्रिय नेत्र तामाङ
    images

                     नेपाली साहित्यको क्षेत्रमा कलम चलाउने समसमायिक व्यक्तिहरुमध्ये नयाँ पुस्ताका प्रतिभाशाली व्यक्तिमा पर्छन् नेत्र तामाङ । उनी विशेषगरी बाल साहित्य त्यसमा पनि बालकथाको क्षेत्रमा सक्रिय छन् । बालिबालिकालाई हामीले जस्तो शिक्षा, संस्कार, संस्कृति सिकाउँछौँ, उनीहरु पछि त्यही अनुरुप ढल्किन्छन् भन्ने बुझेर नै नेत्र तामाङले बाल साहित्यको क्षेत्रमा आफ्नो समय लगाएको देखिन्छ । 

                      आजका कलिला बालमस्तिस्कलाई कसरी देशको उर्जाशील व्यक्ति बनाउन सकिन्छ भनेर उनी बालसाहित्यको माध्यमबाट लागिपरेका छन् । बाल मस्तिकलाई सचेत, बौद्धिक र सुसंस्कृत तुल्याउन बालसाहित्यको माध्यमबाट लागिपरेका उनको योगदान बालसाहित्यमा मात्र सीमित छैन ।

                        सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरमा जन्मिएका तामाङ हाल ललितपुरको जावलाखेलमा बस्छन् । उनको मुख्या पेशा पत्रकारिता हो भने समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । २०६३ मा राष्ट्रिय समाचार समितिबाट पत्रकारिता थालेका तामाङले २०६७ बाट बालकथा लेखनको औपचारिक शुरुवात गरेको पाइन्छ । २०६७ माघ २९ गतेको नागरिक दैनिक पत्रिकाको जूनकीरी बाल परिशिष्टांकमा ‘फिरफिरेको बिहे’ शीर्षकको कथा छापिएसँगै उनी साहित्यको क्षेत्रमा उदाएका हुन् ।

                         उनको लेखनविधा विशेष गरेर चित्रकथा, बाल सचित्र कथा रहेको छ । आज तामाङकै योगदानले गर्दा बालबालिकाले बालसाहित्यको नयाँ खुराक पढ्न पाएका छन् । तामाङले बालबालिकाको मनस्थिति बुझेर यस क्षेत्रमा लागेको पाइन्छ । बालबालिका कस्ता कथा मनपराउँछन् यो कुरा नजिकबाट बुझेर कथा लेख्नुपर्छ भन्ने मनस्थिति उनको देखिन्छ । नेत्रले लेखेका कृतिहरुले आज बालबालिकाले सिक्ने र अभ्यास गर्ने अवसर पाएका छन् । उनका बालसाहित्यिक कृतिहरु बालबालिकाले मन पराएका पाइएको प्रकाशकहरु बताउँछन् ।

                         ‘बालकथामा नेत्र तामाङ सिर्जनात्मक क्षमतासहित प्रस्तुत हुनुभएको छ । भँइचालोको विषयमा केन्द्रित ‘बहुलाएको रुख’ २०७३ सालको उल्लेखनीय कृति हो । साहित्यकार एवं समालोचक प्रमोद प्रधानले २०७३ चैत २६ गतेको गोरखापत्रको शनिबार अंकमा बालसाहित्यमा उत्साह शीर्षकमा तामाङको कृतिबारे लेखेका छन् ।

                         विदेशी भूमिमा आज बालसाहित्यको धेरै विकास भइसकेको छ तर नेपालमा बालसाहित्यको क्षेत्रमा भने बझाङी राजा जयपृथ्वीबहादुर सिंह र गंगाधर द्रविडको पालादेखि मात्रै बालसाहित्य शुरु भएको पाइन्छ । यी दुईले शुरु गरेको नेपाली बालसाहित्यलाई अझ सशक्त बनाउन हिजोआज धेरै व्यक्तिहरु लागिपरेका छन् । त्यसमध्येमा पर्छन् तामाङ ।

                          पत्रकारितमा स्नातकोत्तर गरेका तामाङ बालसाहित्य अपरिहार्य तत्व भएको बताउँछन् । ‘बालबालिकाका लागि अनेकन चिजबिज बनेका छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण खुराक साहित्य पनि हो । साहित्य पौष्टिक आहारभन्दा महत्वपूर्ण हुन्छ । शारीरिक विकासका लागि पौष्टिक आहार झै बौद्धिक विकासका लागि स्वस्थ्य साहित्य आवश्यक छ,’ उनी भन्छन्, ’यसको उत्पादन सक्दो धेरै हुनुपर्छ ।’

                          बालबालिका शारीरिक, मानसिक र बौद्धिक रुपमा स्वस्थ भए मात्र उनीहरु उमेरअनुसार ज्ञान, सीप र तालिम हासिल गर्न सक्छन् । समष्टिमा भन्नुपर्दा उनीहरुको संसार फैलनु पर्छ, व्यापक हुनु पर्दछ । बुवाआमाले सबैभन्दा बढी लगानी बालबालिकामा नै गर्छन् । किनकि आफ्नो सन्तान भोलि राम्रो बनुन् र देशका लागि केही गर्न सकोस् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । यसै दायित्वबाट पन्छिन साहित्यकारले पनि नमिल्ने बताउँछन् नेत्र तामाङ ।

                            बालसाहित्यले बालबालिकाको मनोग्रन्थी स्वस्थ बनाउँछ । यसले बालबालिकाको मनमस्तिस्कलाई माझ्छ, उजिल्याउँछ र रंगीन बनाउँछ । साहित्य त्यस्तो तत्व हो जसले व्यक्तिको अन्तर्मनलाई बढाउने र थप जिज्ञासु बनाउने गर्छ । 

    1581535404.jpg

                                                                    नेत्र तामाङ

    कस्ता छन् तामाङका बाल साहित्य ?
                            नेत्र तामाङको डेढ दर्जन कृति प्रकाशन भइसकेका छन् । उनका केही कृति तामाङ भाषामा पनि प्रकाशित छन् । तामाङ भाषामा लेखिएको डोमु र लमु सिरिज भाग १ देखि भाग ४ सम्म रहेका छन् । यी कृतिहरु हालै द एसिया फाउन्डेसन संस्थाले प्रकाशन गरेको हो । यसअघि तामाङ भाषाको बाल कथा संग्रहसमेत प्रकाशित भएको छ । ‘बोगाल गिक बिजाराप’ अर्थात बीस बालकथा शीर्षकको कथा संग्रह तामाङ न्हाङखोर नामक प्रकाशनले २०७५ सालमा प्रकाशन गरेको हो ।

                             उनका रचनामा स्थानीय समस्या र तामाङ समुदायका विषयवस्तु समेटिएका छन् । नेपाली बालसाहित्यमा नेपाली परम्परा र हिन्दु पृष्ठभूमिका कथाहरु धेरै छन् । तर नेत्रले पस्केका कथाहरु तामाङ संस्कृतिका भएकाले नयाँ स्वादका छन् । उनका कृतिहरु हेर्दा तामाङ परम्परा, कल्पना र विज्ञानलाई जोडिएका कथा भेटिन्छन् । साहित्य व्यक्तिको पृष्ठभूमिबाट पनि प्रभावित हुन्छ । तामाङको बालसाहित्यमा पनि यसका बाछिटा भेटिन्छन् । त्यसो त उनले नयाँ परिवेश र पछिल्ला पुस्ताका अनुभव र खुल्दुलीका विषयलाई पनि साहित्यमा समेटेका छन् । उनको ९ वर्षे साहित्यिक कोसेलीहरुलाई हेर्दा उनले देखेका भोगेका कुरालाई पनि कथाका विषयवस्तु बनाएका छन् ।

                             नेत्र तामाङ हाम्रो वरपरको परिवेश र मायाममतका कुरालाई पनि उनले बालसाहित्यमा टपक्क टिपेर सजाएका छन् । साहित्य र बालसाहित्यको माध्यमबाट नेपाली समाजलाई परिवर्तन गर्नका लागि गरेको प्रयास आफैमा सराहनीय रहेको छ ।
                             नेत्र तामाङका कथाहरुमा सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृति, पर्यावरण, मनोरञ्जन, मनोवैज्ञानिक पक्षको चित्रण गरिएको छ । ‘फुर्वाको फार्म’ चित्रकथा पढ्दा बालबालिकालाई कस्तो कुरा मनपर्छ भन्ने कुरा प्रष्ट हुन्छ । हजुरआमा र नातिनातिनाको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा ‘हजुरआमालाई उपहार’ पढेर थाहा पाउन सकिन्छ ।

                               वातावरण र प्रकृतिको कुरा, दाजुभाइको व्यवहार र आमाबाबुले छोराछोरीलाई के कति माया गर्छन् ? भूकम्प आउँदा के कस्ता विपत्ति आइ लाग्छन् भन्ने कुरा ‘बहुलाएको रुख’ मा प्रष्ट पारेका छन् । यस चित्रकथामा प्रकृति बहुलाउँदा के हुन्छ भन्ने कुरा प्रष्ट पारिएको छ । केटाकेटी वा बसका यात्रुलाई सुरक्षाकर्मीले कतिको सास्ती दिन्छन्? उनीहरुले के कसरी केटाकेटीलाई सहयोग गर्न सक्छन् ? अपराधी पक्रन कस्तो उपाय अपनाउँछन् र केटाकेटीले आफ्नो सामानलाई कतिको माया गर्छन् भन्ने कुरा ‘कालो बिरालो’ चित्रकथाले पुष्टि गर्दछ ।

                                हिजोआज गाउँमा र सहरमा कुखुरा फार्म, बंगुर फार्म, हाँस फार्म, लौकट फार्म, कालिज फार्म, अस्ट्रिच फार्म खोल्ने कृषि विकासका लहर चलेको  छ र बेरोजगार मानिसहरु आफै स्वरोजगारमा लागेर आर्थिक आर्जन गरेका, स्वदेशमा केही गर्न सकिदैन पैसा कमाउन विदेश नै जानुपर्छ भन्नेहरुलाई स्वदेशमा बसेर पनि आर्थिक आर्जन गर्न सकिन्छ आर्थिक आर्जन गर्न विदेश जानुपर्दैन सीप र जाँगर भए स्वेदशमै सुन र हीरा उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण ’फुर्वाको फार्म’ले पुष्ट गर्दछ भने पशुपंक्षीलाई माया गर्यो भने उनीहरुले पनि मान्छेलाई माया गर्दा रहेछन् भन्ने कुरा पनि उक्त कृतिबाट प्रष्ट हुन्छ ।

                                 त्यसरी नै बालबालिकालाई कसरी सिकाउने र उनीहरुलाई सिकाउनका लागि कस्तो वातावरण तयार पार्नु पर्छ भन्ने प्रसंग पनि उनको रचनामा पाइन्छन् । उनका कृतिहरु छोटा छरिता रोचक, सन्देशमुलक, बालबालिकालाई सकारात्मक सन्देश दिने खालका छन् । नेत्र तामाङ करुणा, पीडा, आक्रोश, आशा, विश्वास, विद्रोह र विजयका स्रष्टा हुन् । उनका रचनाले नेपाली समाजको मुक्ति, सुख समृद्धि र नयाँ नेपालको सपनाहरु बोकेका छन् । आधुनिक बालसाहित्यको क्षेत्रमा उनका रचनात्मक क्रियाकलाप हाम्रो साहित्यको उज्वल भविष्यको संकेत हुन् । नेपाली साहित्यलाई सबैभन्दा पहिले उनले दिएको कृति ‘हजुरआमालाई उपहार’ नामक चित्रकथाको किताब हो । यो विवेक सिर्जनशील प्रकाशनबाट २०७० सालमा प्रकाशन भएको हो । उनको दोस्रो कृति ‘कालो बिरालो’ २०७१ मा विवेक सिर्जनशील बाटै प्रकाशन भएको हो । बहुलाएको रुख – २०७३, बोजराज र बाउन्ने – २०७३, सर्प र न्याउरीको खेल–२०७४ तीन वटै चित्रकथाका किताब कथालय प्रकाशनले बजारमा ल्याएको हो । फुर्वाको फार्म चित्रकथा विवेक सिर्जनशीलबाट २०७४ मा प्रकाशन भएको हो । २०७७ मा रुम टु रिडबाट फूर्वाको फोटो सचित्र बालकथा प्रकाशन भएको छ । द एसिया फाउन्डेसनको प्रकाशनमा रहेको डोमु र लमु सिरिज भने नेपाली भाषामा पनि अनुवाद भइसकेको छ । 

                                नेत्र तामाङ सम्पादनमा पनि उत्तिकै दक्खल छन् । नेपालको लाटोकोसेरोहरु – २०७४ र मिनज्याङ: तामाङ समुदायमा नाम जलाउने प्रथा – २०७७ गरी दुई किताब उनले सम्पादन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका विभिन्न किताबमा तामाङका तीनवटा बालकथा प्रकाशित छन् । सन् २०१७ मा उनले लेखेको फेवातालमा सगरमाथा कथा कोरियाली भाषामा प्रकाशित भएको छ । यो कथा अटेरी घडीहरु संग्रहमा संग्रहित छ । नेत्र तामाङको दर्जनौ बाल कथाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । कान्तिपुर दैनिकको कोपिला, अन्नपूर्ण दैनिकको अंकुर, नागरिक दैनिकको जुनकीरीमा उनका कथा प्रकाशित छन् । पहिलोपोस्ट डटकममार्फत पत्रकारितामा सक्रिया उनी हाल तामाङ पत्रकार संघका उपाध्यक्ष हुन् । त्यसैगरी तामाङ हालै हेटौंडामा सम्पन्न प्रेस युनियनको नवौं महाधिवेशनमा खुलातर्फ अत्याधिक मतका साथ केन्द्रीय सदस्य(तेस्रो)मा निर्वाचित भएका छन्। उनी नेपाल आदिवासी जनजाति महासंघ(फोनिज)का केन्द्रीय सदस्य पनि हुन्। बाल साहित्यको क्षेत्रमा काम गर्ने संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रका आजीवन सदस्य उनले भूकम्प र जुरे पहिरोको बेला गृह जिल्ला सिन्धुपाल्चोकमा सिन्धु वेलफेयर सोसाइटीमार्फत खटेका थिए । सोसाइटीका अध्यक्षसमेत रहेका तामाङ भूकम्पका बेला राहत बाँड्न गाउँगाउमा पुगेका थिए भने जुरे पहिरोले ध्वस्त वनसाँघु मा विको भवन बनाउने विषेश भूमिका निभाएका थिए । तामाङको पहलमा सिन्धु युएस अमेरिकाले ३५ लाख सहयोग गरेपछि वनसाँघु स्कुलको भवन ठडिएको थियो ।

                              अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुने एभरेस्ट टाइम्स पाक्षिक पत्रिकामा लामो समय सेवा गरेवापत उनलाई सन् २०१९ मा ‘द काउन्सिल आफ दि सिटी अफ न्युयोर्क’ले ‘सिटी काउन्सिल साइटेसन’बाट सम्मान गरेको थियो । पत्रकारितामा मेधावी छात्र रहेका कारण उनलाई युनिसेफको सहयोगमा चाइल्ड रिच नेपालले एमए थेसिसका लागि एक लाख नगद रिसर्च ग्रान्ट दिएको थियो । अनुसन्धानमुलक पत्रकारितामा इच्छा राख्ने उनी सन् २०१९ मा ह्युमानिटी युनाइटेड अमेरिकाको सहयोगमा मिडिया फाउन्डेसन नेपालले प्रदान गरेको नेपाल जर्नालिस्ट इन इन्भेस्टिगेसन रिपोर्टिङ फेलोसिपसमेत पाए । इन्टरनेसनल रिपोर्टर्स एन्ड इडिटर्स(आइआरइ)ले सन् २०२० मा उनलाई भर्चुअल कन्फ्रेन्समा सहभागीका लागि छनोटसमेत गरेको थियो ।

    खगेश्वर सापकोटा

    प्रकाशित मिति :श्रावण १७ २०७९ मंगलवार - १५:३०:२९ बजे
    प्रतिक्रिया

    खगेश्वर सापकोटा

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij