२०८२ भाद्र ७ गते शनिवार
नेपाली साहित्यको क्षेत्रमा समकालीन पुस्ताका सफल साहित्यकारको नाम लिनुपर्दा सिर्जना शर्माको नाम अग्र स्थानमा आउँछ । सिर्जना शर्मा आफ्नो कलेज अध्ययनको समय ( २०२८–२०२९) तिर देखि नै साहित्य लेखनमा सक्रिय थिईन । उनका कथा तथा कविताहरु त्यस समयका चर्चित मासिक साहित्यिक पत्रिका अभिव्यक्ति, रुपरेखामा छापिएका थिए । २०३० सालमा “रोदनको कारण बुझदा” शीर्षकको उनको बालकथा गोरखापत्र दैनिकमा छापिएको थियो । त्यो समयमा महिलाका कृतिहरु गोरखापत्रमा छापिएका उधाहरणहरु कमै थिए । बालमनोविज्ञान सम्बन्धी यस कृतिले उनलाई निक्कै चर्चाम ाल्याएको थियो ।
पद्म कन्या कलेजमा स्नाकोत्तरको अध्ययन गर्दाको समयमा उनले कलेज स्तरिय कथा तथा कविता प्रतियोगितामा धेरै पुरुस्कार प्राप्त गरेकी थिइन् । शुरुशुरुमा उनका रचनाहरु पौढ साहित्यमा केन्दित थिए । २०५७ सालतिर बाट उनीले बाल साहित्य समेत लेख्न थालिन । हुन त उनको कलम साहित्यका विभिन्न विधा जस्तै कविता, मुक्तक, यात्रास्मरण, लघुकथा, पौढकथा, आख्यान हास्यँव्यंङ्ग आदिमा चलेको देखिन्छ । यसो भए तापनि आख्यान तथा बालसाहित्यमा उनी अग्र स्थानमा देखिन्छिन् । वि.सं. २०५७ “मूलमन्त्र” नामक बालचित्रकथा पुस्तक प्रकाशित गरी पुनः उनी बालसाहित्यको फाँटमा उदाईन् ।
सिर्जना शर्माको कलम आख्यान तथा यात्रा स्मरणका क्षेत्रमा ससक्त रुपमा चलेको देखिन्छ । यसो हुँदाहुँदै पनि उनी बर्तमान समयमा बालसाहित्यमा विशेष स्थानमा आशिन भएकी छन् । उनी भन्छिन्, “आजका बालबालिकालाई हामीले जस्तो शिक्षा संस्कार र संस्कृति सिकाउँछौँ भोलि तिनीहरु त्यस्तै नै बन्दछन् । यही कुरालाई मनन् गरेर नै मैले बालसाहित्यको क्षेत्रमा आफ्नो जीवन र समय लगाएकी हुँ, यसमा मलाई परम् आनन्द मिलेको छ ।”
नेपालको सुदूर पश्चिमी भूभागको डोटी जिल्लामा बुबा जयदेव भट्ट र माता हिरादेवी भट्टको कोखबाट वि.सं. २०१३ सालमा सिर्जना शर्माले यस धर्तीमा आँखा खोलेकी थिइन् । उनको पुख्र्यौली थलो बैतडी जिल्ला भए पनि पिताको सरकारी जागिरको कारणले उनले बाबु आमाको पुर्खेउली थलोमा टेक्ने अवसर धेरै पछि मात्र पाइन् । बुवा सरकारी जागिरे भएका कारण उनले कुनै एक स्कुलबाट आफनो अध्ययन गर्ने अवसर पनि गुमाउनु पयो । बुवाको सरुवा जुन जिल्लामा भयो, आफू पनि संगै त्यहाँ जानु पर्ने हुँदा प्रारम्भिक शिक्षा आर्जनका समयमा निक्कै असुविधा भोग्नु पर्यो । उनको विवाह पाल्पा जिल्लामा भयो । उनी जागिरको क्रममा काठमाडौमैँ धेरै समय रहेकी र काठमाडौमैँ रहनसहन बढी भएकोले हाल उनी ललितपुर जिल्लाको सानेपा, साँचल स्थित आफ्नै निजी घरमा बसोबास गर्छिन ।
साहित्यकार सिर्जना शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । निक्कै लामो समय उनी नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगतका विभागहरुमा तथा अन्तराष्ट्रिय संस्था सेभ द चिल्ड्रेमा रहेर विकास कार्यमा संलग्न भइन । ती क्षेत्रमा उनको जिम्मेवार ५ वर्ष मुनीका बालबालिका तथा तिनका आमाको स्वास्थ प्रवर्धन गर्ने थियो । समाजशास्त्र उनको पढाइको क्षेत्र भए पनि उनको रुची नेपाली साहित्यमा भएका कारण साहित्य लेखनमा गुणस्तरीय समय निकालेको पाइन्छ । उनी २०३६ देखि २०४४ साल सम्म रेडियो नेपालमा साहित्य कार्यक्रम पनि चलाउँथिन् ।
सिर्जना शर्मा
हाल उनका रचना बालसाहित्य र किशोर साहित्यतर्फ बढी झुकेको पाइन्छ । समाजशास्त्र अध्ययन गरेकी हुनाले उनका रचनाहरुमा समाजका विविध, सामाजिक, आर्थिक समस्याहरु समेटेको पाइन्छ । उनलाई साहित्यतर्फ अभिप्रेरित गर्ने विषय उनले देखेको ग्रामिण समाजका महिला तथा तिनका जीवनका उतारचढाव र संघर्षहरु नै हुन् । यस बाहेक उनको जीवनका अनुभव र शिक्षा प्रदत्त ज्ञान एवम् पारिवारिक सामाजिक सम्बन्धका अनुभूतिहरु समेत हुन् । अझ भन्नुपर्दा उनको पारिवारिक बातावरण साहित्यमय रहेको बुझिन्छ । बुबा जयदेव भट्ट न्याय क्षेत्रका प्रशिद्ध व्यक्ति भए पनि दर्शनशाश्त्रका पुस्तकहरु पढनमा उहाँको रुचि थियो । उनकी आमा हिरादेवी पनि धार्मिक गन्थहरु पढनमा खुब रुचि राख्नु हुन्थ्यो । उनको जेठो दाजु आनन्ददेव भट्ट वरिष्ठ साहित्यकार हुनुहुन्थ्यो । उहाँको प्रेरण आफ्नो लेखनका लागि उर्जा भएको उनी बताउँछिन् । यसरी हेर्दा प्रमुख रुपमा घरायसी वातावरणले नै उनलाई साहित्यतर्फ लाग्न प्रेरित गरेको बुझिन्छ ।
सिर्जना शर्माका रचना पत्रपत्रिकामा ३०३२ सालतिर आउन थाले पनि बिचमा उनी लेखनबाट बिश्राममा परे सरह भइन । पछि पुनः २०५७ मा साहित्यमा सार्वजनिक भइन् । उनका सुरुका रचना बालचित्रकथाबाट सार्वजनिक भए पनि हाल बालकथा र किशोर किशोरीकालागि समेत कार्टून श्रृंखला तथा आख्यान लेखेकी छन् । उनी बालबालिकालाई बेलाबेला कथा लेखनको तालिम समेत दिन्छिन् । उनको यस्तो योगदानले बालबालिकाले साहित्यका पानामा आफ्नो रुची र उमेर अनुसारको साहित्यिक कृतिहरु पढ्न मात्र हैन लेख्न समेत थालेका छन् । सिर्जना शर्माले बालबालिकाको मनोविज्ञानलाई बुझेर नै बालसाहित्यमा हात हालेकी हुन् । सिर्जनाले लेखेका धेरै बालसाहित्यिक कृतिहरुबाट आजका कलिलो मस्तिष्क भएका बालबालिकाहरुले सिक्ने र अभ्यास गर्ने सु अवसर पाएका छन् ।
बालबालिकाको बारेमा सिर्जना शर्मा भन्छिन्, “बालसाहित्य आजको अपरिहार्यको विषय हो । बालबालिका भनेका भर्खर उम्रेका कलिला विरुवा भोलिका राम्रो फलदिने वृक्ष हुन् । आजका यी कलिला मस्तिष्कमा देशको भविष्य जोडिएको हुन्छ । आज बालबालिकाहरुलाई हामीले समयमा नै ख्याल गर्न सकेनौँ भने भोलि उनीहरुको भविष्य मात्र नभई देशको भविष्य अन्धकारतर्फ धकेलिन्छ र हामीले पछि पुर्पुरोमा हात राखेर पश्चाताप गर्नु बाहेक अर्को कुनै बिकल्प हुने छैन । बास्तवमा बालबालिकाहरु शारीरिक, मानसिक र बौद्धिक रुपमा स्वस्थ र तन्दुरुस्त हुनुपर्छ । बालबालिकाहरु यी माथिका मध्ये कुनै एक पक्षमा कमजोर हुने बित्तिकै उनीहरुले स्वत स्फुर्त रुपमा आफूले चाहेको जस्तो ज्ञान र सीप हाँसिल गर्न सक्दैनन् । उनीहरु शारीरिक, मानसिक र बौद्धिक रुपमा स्वस्थ भए मात्रै उनीहरुलाई उमेर र रुची अनुसारको ज्ञान, सीप र तालिम दिन सकिन्छ । आज बौद्धिक वर्गले सोच्नुपर्ने विषय भनेको बालसाहित्य र गर्नुपर्ने, सपार्नु पर्ने क्षेत्र भनेको नै बालबालिका हुन् । बालबालिकाहरुमा सिक्न र सोच्ने क्षमता अत्यधिक हुन्छ । बालबालिकाहरुलाई समयमा नै हामीले सही शिक्षा असल संस्कार, असल संस्कृति दिन सक्यौँ भने उनीहरुको भविष्यमात्रै नभई देशको भविष्य नै उज्जल हुन्छ । बालबालिकाहरुलाई सही मार्ग निर्देश गर्ने दाहित्व हाम्रो हो । सो दायित्वबाट हामी पन्छिन हुँदैन । यो यथार्थ कुरा हो भन्छिन् सिर्जना शर्मा ।
बालबालिकाहरु जन्मना साथ अनन्त सम्भावना लिएर आएका हुन्छन् । तिनीहरु नै पछि मानव समाजमा असल शिक्षा, असल संस्कार र असल संस्कृति सिकेर संसार हाँकेका हुन्छन् । तर अन्य प्राणीको भन्दा मान्छेको बच्चालाई स्याहार गर्ने र सिकाउने समयावधि लामो हुन्छ । पाँचवर्ष जति त उनीहरु आफ्ना आमा बाबु कै स्याहार सुसारमैँ हुर्कन्छन् । त्यसपछि सिक्ने र जान्ने क्रम सुरु हुन्छ । शिक्षा दिने दायित्व आमाबाबु र गुरुजनहरुको थाप्लोमा आइपर्छ । बालकको पहिलो पाठशाला घर हो भने दोस्रो पाठशाला विद्यालय हो ।
सिर्जना शर्मा बालबालिकाको बारेमा भन्छिन्, प्रकृतिले नै बालबालिकाहरुलाई जिज्ञासु प्रवृत्तिको बनाइदिएको हुन्छ । उनीहरुको जिज्ञासा अनन्त हुन्छ । उनीहरु आफ्ना वरिपरिका र संसारका वारेमा जानाकारी बढाउदै जान्छन् । केवल तोकिएका पाठ्यपुस्तकका आधारमा मात्र ज्ञानको विकास हुँदा त्यो एकांगी अपूर्ण र सिमित भइदिनन्छ । उनीहरुका निम्ति थप किताबहरुको आवश्यकता पर्छ । तर ती किताब आकर्षक उपयोगी अनि उचित मानवीय संस्कार र संवेदना दिने र शिक्षाका उद्येश्य प्राप्त गर्न सहयोगी हुने खालको हुनु पर्दछ । बालसाहित्यका माध्यमबाट उनीहरुको अनन्त ज्ञान पिपासा शान्त गर्ने विशेष प्रयास गर्न सकिन्छ र गरिन्छ पनि । बालसाहित्य शब्दले बालबालिकाका निम्ति तयार गरिएको सबै श्रव्य दृष्य तथा पाठ्य सामाग्रीलाई जनाउँछ ।
बालसाहित्यको क्षेत्रमा सिर्जना शर्माको कुचिले सही बाटो निर्देश गरेको छ । यसो भन्नुको अर्थ उनको बालसाहित्यका कृतिहरु आज बालबालिकाले रुचिका साथ अध्ययन गरेको पाइन्छ । हालसम्म आउँदा उनका १६ वटा कृतिहरु प्रकाशनमा आइसकेका छन् । संख्याका दृष्टिले यो संख्या न्यून भए पनि उनका साहित्यक कृतिहरु स्तरीय सावित भएका छन् । साहित्य रचना गरेर आनन्दित हुने स्रष्टाको नाम लिनुपर्दा सिर्जना शर्माको नाम पनि अग्र स्थानमा आउँछ । उनका रचनाहरुमा राष्ट्र र राष्ट्रियता बोल्छ, ममता बोल्छ, बालबालिकाका समस्याका समाधानका उपायहरु बोल्छन् । उनका बालसाहित्यमा बालबालिकाको मनोविज्ञानलाई छोइने गरी अभिव्यक्ति दिइएको छ । उनका बालकथा, बालचित्रकथा, बालकाव्य र मुनाखुल्दुली कार्टून बालबालिकाहरुले रुचाएका छन्, गाएका छन् र मन पराएका छन् । जीवनका विभिन्न उकाली र ओरालीका प्रतिकूलताहरुसँग संघर्ष गर्दै बालसाहित्यलाई कसरी फुलाउन र फलाउन सकिन्छ भन्दै उनी आफ्नो बचेको समयलाई यसै विषयमा चिन्तनशील भएर लगाएकी छन् ।
कुनै पनि साहित्यकारको साहित्यिक पृष्ठभूमी उनको जीवनमा घटेका जीवन संघर्षका अनुभूतिहरु कै साहित्य लेखनमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । सिर्जना शर्माको साहित्यक कृतिहरुमा पनि उनको आफ्नै जीवनमा घटेका घटनाहरुको प्रभाव पर्नु कुनै नौलो कुरा होइन । उनको करीब २२ वर्षको साहित्यिक कृतिहरुको अध्ययन गर्दा उनका कृतिहरुमा उनले बाल्यकालमा देखेका, भोगेका र अनुभव गरेका कुराहरुलाई नै आफ्नो बालसाहित्यको विषय वस्तु बनाएकी छन् । सिर्जना शर्मा मुख्यतया बालसाहित्यको क्षेत्रमा प्रगतिशील चेतनाबाट प्रेरित भएकी साहित्यकार हुन् । नेपाली समाजमा भएका रुढीवाद, कुसंस्कार, शोषण, दमन, वर्गविभेद लगायतका कुरीति विरुद्ध उनी साहित्य र बालसाहित्यको माध्यमबाट बालबालिकाहरुलाई सचेत बनाउने उद्देश्यका साथ अगाडि बढिरहेकी छन् । उनले प्रकृतिमा पाइने प्राकृतिक वस्तु र प्राकृतिक विपत्तिलाई आधार बनाएर आफ्नो बालसाहित्यको विषयवस्तु बनाउन सक्नु उनको क्षमता हो । उनले साहित्य र बालसाहित्यको माध्यमबाट नेपाली समाजलाई परिवर्तन गर्नका लागि गरेको प्रयास आफैमा अत्यन्त महत्वपूर्ण रहेको छ ।
सिर्जना शर्माको बालचित्रकथा, बालकथा, युवाखुल्दुली कार्टुन श्रृंखलाहरुमा हाम्रै समाजका सामाजिक, आर्थिक, राजनितिक, सांस्कृतिक, पर्यावरणीय, मनोरञ्जनात्मक र मनोवैज्ञानिक पक्षको चित्रण गरिएको छ । उनका रचनाहरुमा बाल्यकालमा पाउनु पर्ने आधारभूत ज्ञानका कुरा पाइन्छ । उनले लेखेका पुस्तकमा ठुलो बालकथा २०६३, पीँपीँबाजा बालकथा २०६३, मनचिन्ते झोला २०६३, पुतलीको बिहे, छट्टु स्याल, २०६३, युवाखुल्दुली कार्टुन श्रृंखला संग्रह २०६४, उपहार २०७६, हिमाल हेर्ने रहर २०७५, नौ रंगी छाता २०७५ निक्कै नै रोचक रहेका छन् । यी कथाहरु बलबालिका लागि सकारात्मक संदेश दिने खालका छन् ।
किशोर किशोरीका लागि सन्देश मुलक कार्टुन हरेक शुक्रकार कान्तिपुर पब्लिकेशनको साप्ताहिक पत्रिकामा प्रकाशित हुने गरेको थियो । यो श्रृङ्खला करिब ८ वर्ष नियमित प्रकाशनमा आयो । यिनै श्रृङ्खलाका काटुनहरु पुस्तका रुपमा पल्लब नामले २०६० मा प्रकाशित भयो भने बाँकी कार्टुन श्रृङ्खला अर्को पुस्तका रुपमा “युवाखुल्दुली” २०६३ मा प्रकाशित भयो । यी दुबै कृति किशोरावस्थाका केटाकेटी माझ निक्कै लोकप्रिय भएको पाइन्छ । यिनै समयताका पौढ साहित्यमा आधारित उनका कथा संग्रह“अन्त्यहिन पहिराहरु” र “जुनकिरीको उडान” नामक मुक्तक संग्रह पनि प्रकाशन भएको थियो ।
पौढ साहित्य भए पनि किशोरकिशोरी माझ उनको उपन्यास “गोल्डेन गेट” प्रशिद्ध छ । सिर्जना शर्मा साहित्यिक विधामा मात्रै क्रियाशील नारी स्रष्टा होइनन् । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आबद्ध व्यक्तित्व हुन् । उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगतका विभागहरुमा कार्यक्रम अधिकृतको रुपमा १० वर्ष सेवारत रहिन् । यसपछि उनी सेभ द चिल्ड्रेन नामक अन्तरर्राष्ट्रिय संस्थामा कार्यक्रम सयोजक भई कुल २२ वर्ष सेवा दिइन । यस समयमा उनी केन्द्रमा मात्र नबसी गाउँगाउँ घुमी महिला तथा बालबालिकाको स्वास्थ्य प्रवर्धन काममा तल्लीन रहिन । उनले रेडियो नेपालमा २०३५ देखि विंक्रम सम्वत् २०४२ सम्म साहित्य संसार कायक्रमको संचालक भई यज्ञनिधी दाहालसंगै कार्यक्रम संचालन गरिन् ।
सिर्जना शर्मा बालबाङमय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार हुन् । उनी गुन्जन साहित्यिक संस्थाको आजिवन सदस्य रहेकी छन् । विभिन्न संघ संस्थाहरुले उनलाई मान, सम्मान र पुरस्कार प्रदान गरेका छन् । गुरुप्रसाद मैनालीको सम्मानमा स्थापना गरिएको पुरस्कार “मैनालीकथा पुरस्कार २०५७, बाट उनी सम्मानित भएकी थिइन । त्यसै गरी गोल्डेन गेट उपन्यासका लागि अन्तरर्राष्ट्रिय साहित्य समाज अमेरिकाले यस वर्षको एक उत्कृट उपन्यास भनेर २०७२ सालमा सम्मान र पुरस्कृत गरेको थियो । २०७५ मा नेपाल स्रष्टा समाजबाट पनि सम्मान र पुरस्कृत भएकी थिइन् । उनले नेपालका करीब ५२ बटा जिल्ला भ्रमण गर्नुका साथै भारत, चिन, अमेरिका, पाकिस्तान, इन्डोनेशिया, फिलिपिन्स, मलेशिया, सिंगापुर, थाइल्याण्ड, हङ्गकङ्ग, बेलाइत, फ्रान्स बेल्जीयम र कम्बोडिया देशहरुको पनि भ्रमण गरेकी छन् ।
सिर्जना शर्मा हाल पनि साहित्यका क्षेत्रमा कृयाशील रहेकी छन् । उनले आफ्ना साहित्यिक कृतिहरु मार्फत् बाल मगज र किशोर किशोरी मगजलाई आवश्यक पर्ने खुराँक पस्कन सफल भएकी छन् ।
खगेश्वर सापकोटा
सिरानचोक गा पा ३,हर्मी
गोरखा।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij