२०८२ भाद्र ९ गते सोमवार
वाणिज्य बैंकहरूले गत आर्थिक बर्ष २०७८/०७९ मा निक्षेप सङ्कलन १० प्रतिशत र कर्जा लगानी १४ प्रतिशतले बृद्धि गरेको छ ।
नेपाल बैंकर्स एशोसिएनको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक बर्षको असार मसान्तको तुलनामा गत आर्थिक बर्षको असार मसान्तसम्म बैंकहरूको निक्षेप र कर्जा दुबै बढेको हो। वित्तीय क्षेत्रमा तरलता समस्या उच्च भएको अवस्थामा पछिल्लो समयमा अधिकांश बैंकहरूले निक्षेपमा सुधार गरेका छन् ।
फलस्वरूप असार मसान्तसम्ममा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) समेत ८६.४१ प्रतिशत कायम गर्न सफल भएका छन् ।
हाल सञ्चालनमा रहेका २६ ओटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/७८ मा ४१ खर्ब १२ अर्ब निक्षेप सङ्कलन गरेकोमा गत आर्थिक बर्षमा भने १० प्रतिशतले बृद्धि गरेर ४५ खर्ब ४१ अर्ब रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, अघिल्लो आर्थिक बर्षमा ३६ खर्ब ४९ अर्ब रूपैयाँ कर्जा लगानी गरेको २६ ओटा वाणिज्य बैंकहरूले चालू आर्थिक बर्षमा सो रकम बढाएर ४१ खर्ब ७४ अर्ब रुपैयाँ पुर्याएको छ ।
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल निक्षेप र कर्जा दुबैमा अगाडि
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंक निक्षेप कुम्ल्याउन र कर्जा प्रवाह गर्न दुबैमा अगाडि देखिएको छ । अघिल्लो आर्थिक बर्षमा २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको नबिलले गत आर्थिक बर्षको असार मसान्तसम्म भने सो रकममा ४४.५४ प्रतिशतले बढाएर ३ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, नबिललाई पछ्याउदै निक्षेप सङ्कलनमा एनसीसी बैंक दोस्रो स्थानमा छ। एनसीसीले असार मसान्तसम्ममा निक्षेप २७ प्रतिशतले बृद्धि गरेको छ । दोस्रो स्थानमा रहेको सनराइज बैंकले गत आर्थिक बर्षमा निक्षेप रकम २२.२७ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो आर्थिक बर्षमा एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको सनराइजले समीक्षा अवधिमा सो रकम बढाएर एक खर्ब ३४ अर्ब रुपैयाँ पुर्याएको हो ।
यता, कर्जा प्रवाहमा पनि नबिल बैंकपछि एनसीसी बैंक नै रहेको छ । एनसीसीले अघिल्लो बर्षको तुलनामा कर्जा लगानी २७.०४ प्रतिशतले बृद्धि गरेको हो । त्यस्तै, नेपाल बैंक कर्जा लगानीमा तेस्रो स्थानमा रहेको छ । नेपाल बैंकले अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्ममा एक खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा समीक्षा अवधिमा सो रकम २४.७५ प्रतिशतले बृद्धि डरेर एक खर्ब ८० अर्ब रुपैयाँ पुर्याएको हो ।
एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक निक्षेप घट्दा कर्जामा नेपाल इन्भेष्टमेन्ट बैंक पछाडि
अघिल्लो आर्थिक बर्षको तुलनामा एनआई सी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप घटेको छ । अघिल्लो असार मसान्तसम्म २ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको राष्ट्रिय वाणिज्य बैंकले समीक्षा अवधिमा निक्षेप रकम २.८२ प्रतिशतले घटेर २ खर्ब ५६ अर्ब रुपैयाँमा झारेको छ । त्यस्तै, एनआई सी एशिया बैंकको निक्षेप रकम पनि १.७६ प्रतिशतले घटेको छ ।
अघिल्लो असार मसान्तमा ३ खर्ब रुपैयाँ निक्षेप जम्मा गर्न सफल उक्त बैंकले गत असार मसान्तसम्ममा भने २ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै निक्षेप सङ्कलन गरेको छ । अन्य वाणिज्य बैंकहरूको तुलनमा ग्लोबल आइएमई बैंकको निक्षेप रकम पनि सामान्य बृद्धि भएको छ । अघिल्लो असार मसान्तमा २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप जम्मा गर्न सफल सो बैंकले समीक्षा अवधिमा २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै निक्षेप सङ्कलन गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा १.१४ प्रतिशतले मात्रै बढी हो ।
तरलता समस्याका कारण कर्जा लगानीमा कडाइ गरेका वाणिज्य बैंकहरूले समग्रमा लगानी १४ प्रतिशतले बृद्धि गरेको छ । निक्षेप अभावका कारण समस्यामा परेका बैंकहरूले मागको आधारमा कर्जा लगानी गर्न नसकिएको बताउँदै आएका थिए । यसरी लगानी गर्ने वाणिज्य बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट बैंकले निकै कम मात्रै कर्जा प्रवाह गरेको छ ।
अघिल्लो आर्थिक बर्षमा एक खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको उक्त बैंकले समीक्षा अवधिमा कर्जा रकम ०.५८ प्रतिशतले बढाएर एक खर्ब ६८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेको छ । त्यस्तै, निक्षेपमा सुधार गर्न नसकेको एनआई सी एशिया बैंकले कर्जा लगानी १.२८ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो असार मसान्तसम्म २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा २ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij