२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको नेता बेदुराम भुसालले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभा बारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने कार्यसूची छ ।
‘आजको बैठकमा ओलीलाई सोधिएको स्पष्टीकरण, शुक्रबारको विरोधसभाको समीक्षा र आन्दोलनका थप कार्यक्रम मुख्य एजेन्डा रहेका छन्’, नेता भुसालले भने ।
माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेताहरु मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए ।
तीन दिनभित्र स्पष्टीकरण दिन पत्रमा उल्लेख भएको भए पनि एक हप्ताबित्दा समेत स्पष्टीकरण नआएपछि उनलाई साधारण सदस्यबाटै कारबाही गर्न लागिएको नेता भुसालले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij